सर्दीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न


नवलपुर, ६ चैत्र ।
आगलागीको घटना र त्यसबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि नेपाल रेडक्रस सोसाइटीले सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ । यसैबिच रेडक्रसले डिभिजन वन कार्यालय नवलपुरको सहकार्यमा आगलागी सम्बन्धी कृत्रिम घटना घटना अभ्यास गरेको छ ।
अभ्यासमा वन कार्यालय, रेन्जर पोस्ट, प्रहरी, जुनियर युवा रेडक्रस स्वयंसेवक, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, आमा समूह, क्लब, स्थानीय विपद् न्यूनीकरण समितिका सदस्यहरू गरी १ सय ५० जना सहभागी थिए । अभ्यासमा आगलागी रोक्न गर्नुपर्ने भूमिका, आगलागी भएको वेलामा महत्त्वपूर्ण सामानहरूको जतन गर्ने तरिका, मानवीय क्षति न्यूनीकरणमा सरोकार बालाहरूले खेल्नुपर्ने भूमिकाका विषयमा अभ्यास गरिएको थियो ।
जापनिज रेडक्रस सोसाइटिको सहयोगमा रेडक्रस सोसाइटी नवलपुरले विनयी त्रिवेणीमा समुदायको अगुवाइमा विपद् जोखिम न्यूनीकरण परियोजना ३ वर्ष देखि सञ्चालन गर्दै आइरहेको सोही परियोजना अन्तरगत आगलागी कृत्रिम घटना अभ्यास गरिएको उपसभापति उमा भुसालले जानकारी दिनुभयो ।
विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख घनश्याम गिरीले यस पालिका ७६ प्रतिशत वन क्षेत्रले ओगटेकोले आगलागीको उच्च जोखिम रहेको र यति वेला खडेरीको समय पनि भएकाले यसलाई रोक्न, मानवीय र धनजनको क्षति न्यूनीकरण गर्न सबै एक जुट भएर लाग्न आग्रह गर्नुभयो ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले नवलपुर आगलागीको जोखिम मध्ये नेपालकै १६ औँ  स्थानमा रहेकोले यसको रोकथामका लागि समुदायको सक्रियताले मात्रै सम्भव हुने बताउनुभयो । नवलपुरमा यस वर्ष एक दुई स्थानमा छुटफुट घटना बाहेक खासै ठुलो वन डढेलो/आगलागी नभए पनि गर्मी सुरुवातसँगै जोखिम बढ्दै गएकाले सबै सरोेकारवालाहरु चनाखो भएर न्यूनीकरण अभियानमा जुट्न डिएफओ अधिकारीले आग्रह गर्नुभयो ।
 विनयी त्रिवेणीका पूर्वप्रमुख डम्बर बहादुर जिसी, रेडक्रस सोसाइटी गण्डकी प्रदेश सदस्य रेखा अधिकारी, नवलपुरका कोषाध्यक्ष वेद प्रसाद न्यौपाने, उपमन्त्री नीराजन चौधरी, जुनियर युवा रेडक्रस जिल्ला समिति संयोजक केबी राना, रेडक्रस जिल्ला सदस्य दुर्गा लक्ष्मी काफ्ले, परियोजना लेखा प्रशासन अधिकृत सुस्मिता आचार्य, रेडक्रसकर्मी शसिधर कँडेल, विनयी त्रिवेणी–४का वडाध्यक्ष साहिल श्रेष्ठ, पुर्वअध्यक्ष, गोपाल प्रसाद अधिकारी, वडा सदस्यहरू, मध्यविन्दु उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चेतन प्रसाद पौडेल लगायतले समेत कृत्रिम घटना अभ्यासमा सहजिकरण तथा सहभागिता जनाएका थिए ।
रेडक्रस सोसाइटी नवलपुरले विनयी त्रिवेणीमा विपद् न्यूनीकरणका लागि समुदायको क्षमता विकासका लागि तालिम, गोष्ठी, अन्तरक्रिया, नीतिगत पैरवी, योजना तर्जुमामा सहजिकरण, सचेतना, प्रतिकार्य लगायतका गतिविधिहरू गर्दै आइरहेको छ ।

प्रतिक्रिया