हिंसा अन्त्यको लागि कावासोतीमा कानुनी सचेतना फैलाइँदै


कावासोती नगरपालिका बालिका र महिलामाथि हुने हिंसा र दुर्व्यवहार अन्तको लागि समुदाय स्तरका अगुवालाई कानुनी सचेतना फैलाइँदै आयको छ । जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत सो अभियानहरू गाउँ गाउँमा पुर्‍याउन सुरु गरिएको संस्थाका महासचिव दीपक शर्माले बताउनु भयो ।

विकास भौतिक मात्र देखेर स्थानीय सरकारले मानव विकासका अरू सूचकमा काम नगर्दा गाउँ गाउँमा समस्या रहेको र यो अझै विशेष गरी हिंसा र दुर्व्यवहारका घटना बढी हुनु र यसको रोकथामको लागि पहल नहुँदा यस्ता कार्यक्रमहरू गरिएको उहाँले बताउनुभयो । आज कावासोती १४ मा रहेका विभिन्न आमा समूह र टोल विकासबाट प्रतिनिधित्व हुने गरी सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क. ले लैङ्गिक हिंसाका प्रकारहरू, हिंसा तथा दुर्व्यवहार हुने कारणहरू, हिंसा तथा दुर्व्यवहारका असरहरू, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, ज्येष्ठ नागरिक माथि हुने हिंसाको अवस्था र त्यसको तथ्याङ्कहरू सहित प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँले जिल्ला प्रहरी कार्यालय र अरू निकायहरू समन्वय गरी हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि गरिएका प्रयासहरू सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, महिला समूह, अभिभावकहरूको भूमिका र हिंसा, दुर्व्यवहार भएमा समन्वय गर्न सकिने निकायहरूको बारेमा जानकारी समेत गराउनु भएको थियो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले कावासोती नगरपालिकामा सञ्चालन भइरहेको किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भइरहेका गतिविधिहरू तथा अभियानहरूको बारेमा जानकारी दिँदै समुदायमा हिंसा, दुर्व्यवहार, शोषण तथा असमानता अन्त्य गर्ने उद्देश्यले स्थानीय तह, सरोकारवाला, सामुदायिक संस्था, वडा कार्यालय, विद्यालय, सञ्जाल, नगरपालिकाले चासो राख्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा महिला अधिकारका लागि राष्ट्रिय अभियानका केन्द्रीय महासचिव कल्पना विन्दु गौतमले धेरै जसो हिंसा पुरुषहरूबाट नै हुने भएकाले छोराछोरी दुवैलाई सचेत गराउन, सचेतना र परिवर्तनका लागि सुरुमा आफैँ बाट सुरुवात गर्न, आफूले हिंसा नसहने, अरूलाई हिंसा हुन नदिने, अरूलाई हिंसा नगर्ने भन्ने कुरामा प्रतिबद्ध हुन, घरपरिवार तथा समुदायमा पनि आफूले सिकेका र जनचेतनाका कुरा सिकाउन आवश्यकता रहेको बताउनु भएको थियो ।

त्यस्तै गरी कावासोती १४ का कार्यवाहक अध्यक्ष दान बहादुर महतोले समुदायमा कुनै घटना हुँदा सम्बन्धित निकायमा सूचना दिई सरसल्लाह गर्न, महिला हिंसा भएमा कानुनी प्रक्रिया अपनाउन, हिंसालाई प्रतिकार गर्न आफ्नो गाउँ ठाउँबाट जागरूक हुन सुझाव दिनु भएको थियो । उहाँले कार्यक्रममा लैङ्गिक हिंसा भित्र शारीरिक हिंसा, यौनजन्य हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, धार्मिक हिंसा लगायत विभिन्न घटनाहरु प्रति  सचेत हुँदै कार्यक्रममा सिकेका कुराहरू व्यवहारमा लागु गर्न सकियो भने हिंसालाई न्यूनीकरण गर्न सकिने कुरा बताउनु भएको थियो ।

सो कार्यक्रममा जनप्रतिनिधिहरू, समुदाय स्तरमा रहेका विभिन्न आमा समूह, महिला समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरू, अभिभावक, जिल्ला प्रहरी कार्यालय, अग्यौली स्वास्थ्य केन्द्रका प्रतिनिधि, सामुदायिक प्रहरीका प्रतिनिधिहरू गरी ५८ जनाको उपस्थिति रहेको थियो । कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, नवलपुर किशोरी सञ्जाल, सामुदायिक सेवा केन्द्र नवलपुर, कावासोती वडा नं १४ को सहकार्य र क्यान्नलानको सहयोगमा गरिएको थियो ।

प्रतिक्रिया