बौद्धिक अपाङ्गहरूलाई अवसर दिनु पर्ने माग 


कावासोती,

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर सृजना गर्नु पर्ने सरोकारवालाहरूले बताएका छन् । कावासोतीमा आयोजित बौद्धिक अपाङ्गता भएका व्यक्ति अभिभावक एवं सरोकारवालाहरूको भेलाले अवसर पाउन सके बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले सृजनात्मक काम गर्न सक्ने बताएका हुन् ।

शारीरिक रूपमा सबल रहे पनि बौद्धिक रूपमा पूर्ण विकास नभएका व्यक्तिहरूलाई शिक्षा र रोजगारीको अवसर वाट वञ्चित गराउन नहुने बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ नवलपुरका अध्यक्ष हरिलाल गौडेलले बताउनु भयो । बौद्धिक अपाङ्ग भएका बालबालिकाहरू अहिले शिक्षा वाट बञ्चित भएकाले यस्ता बालबालिकालाई राज्यले प्राथमिकतामा राख्नु पर्ने उहाँले बताउनु भयो ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पढाउन सकिने गरी कुनै पनि विद्यालय नरहेकाले त्यस तर्फ स्थानीय सरकारले पनि ध्यान दिनु पर्ने अध्यक्ष गौडेले बताउनु भयो ।

त्यसै गरी बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालका कार्यक्रम अधिकृत मिलन खरेलले बौद्धिक अपाङ्गताको बेलैमा पहिचान गरी सानै देखि सकारात्मक आनिवानि बसाल्नु पर्ने बत्ताउनु भयो ।

“समाजमा अझै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिले के नै गर्न सक्छन् र भन्ने हेयको दृष्टि कायमै छ”,उहाँले भन्नु भयो,“तर परिवारको साथ र सहयोगसँगै अवसर पाएमा  उनीहरू पनि आफ्नै खुट्टामा उभिन सक्छन् ।”

बौद्धिक अपाङ्गताका विषयमा परम्परागत रुढीवादी सोच हटाउनुपर्ने अपाङ्ग पुन स्थापना केन्द्र नवलपुरकी उपाध्यक्ष विष्णु भुसालले बताउनु भयो । “बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले समाजमा के नै गर्न सक्छन् भन्नेमा त्यो सोचाइ व्याप्त छ । मौका दिनुपर्छ नसक्ने भन्ने हुन्न । हामी मेहनत गर्न अल्छी गर्छौ तर उनीहरू हिचकिचाउँदैनन् । धेरैले आत्मनिर्भर भएर देखाएको अवस्था पनि छ ।”,उपाध्यक्ष भुसालले भन्नु भयो ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई विशेष खालको स्याहार र सिकाइको आवश्यकता रहेको कावासोती ३ का लक्ष्मणप्रसाद न्यौपानेले बताउनु भयो । तालिम, परामर्श र शिक्षा दिन सके धेरै अभिभावक लाभान्वित हुने उहाँले बताउनु भयो ।

मध्यविन्दु नगरपालिका ६ की मोनिका अधिकारीले बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ केन्द्र स्थापना गरिएको बताउनु भयो । आफूहरूकै पहलमा मध्यविन्दु ७ मा बौद्धिक अपाङ्गता भएका बालाबालीकालाई सिप र शिक्षा दिने गरी दिवा सेवा केन्द्र सञ्चालन गरिएको उहाँले जानकारी दिनु भयो । सो सेवा केन्द्रमा अहिले आठ जना बौद्धिक अपाङ्ग भएका बालबालिका आउने गरेको अधिकारीले बताउनु भयो । बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ नवलपुरको आयोजना एवं बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको सहयोगमा कावासोतीमा आयोजना गरिएको सचेतना तथा सशक्तीकरण कार्यक्रममा नवलपुर जिल्ला भित्रका २५ जनाको सहभागिता रहेको थियो ।

अपाङ्गता अधिकार ऐन २०७४ का अनुसार विभिन्न १० प्रकारका अपाङ्गतामध्ये बौद्धिक अपाङ्गता पनि एउटा हो । जसमा अपाङ्गताभित्र डाउन सिण्ड्रोम पनि एक हो ।

पछिल्लो एक अध्ययनअनुसार विश्वमा प्रत्येक एक हजार एक जना बच्चामा डाउन सिण्ड्रोमको लक्षणहरू देखा परेको पाइन्छ । राष्ट्रिय जनगणना, २०७८ का अनुसार कुल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत विभिन्न किसिमका अपाङ्गतामध्ये बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या एक दशमलव आठ  प्रतिशत (११ हजार ३५८) छन् । जसमध्ये पुरुषको सङ्ख्या पाँच हजार आठ सय ६९ (५१ दशमलव ६७ प्रतिशत) र महिलाको सङ्ख्या पाँच हजार चार सय ६९ ( ४८ दशमलव ३३ प्रतिशत) छ ।

प्रतिक्रिया