नवलपरासी सहित तराइका जिल्लामा आज होली मनाइँदै


मध्यविन्दु (नवलपरासी), १२ चैत,
रङ्गहरूको पर्व होली आज तराइ तथा मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लाहरूमा होली(फागु पूर्णिमा) मनाइएको भोलिपल्ट तराइका जिल्लाहरूमा होली मनाउने परम्परा अनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।
आज नवलपरासी(बर्दघाट सुस्तापूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा होली मनाइँदै छ ।
मगर, थारु समुदायको बाक्लो बसोबास रहेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धि सागर भण्डारीले बताउनु भयो । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”,उहाँले भन्नु भयो,“धार्मिक महत्त्व सँग सँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”
प्राचीन कालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताउनु भयो । रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।
पहाडी जिल्लामा होलीको आइतबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।

जिल्लामा होली पर्व विशेष सुरक्षा योजना लागु
नवलपरासी(बर्दघाट सुस्तापूृर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउनका लागि तीन सय छ जना प्रहरी परिचालन गरिएको छ । यस जिल्लामा सोमबार होली पर्व मनाइँदै छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूृर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार जिल्ला भरि विभिन्न ठाउँमा प्रहरी, ट्राफिक प्रहरी र सादा पोसाकका प्रहरी गरी तीन सय छ जना प्रहरी परिचालन गरिएको हो । त्यसमा आवश्यकता अनुसार अन्य थप प्रहरी खटिने जनाइएको छ । होली पर्व शान्ति र सौहार्द्धपूर्ण रहोस् भन्ने उद्देश्यले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको प्रहरी उपरीक्षक रेग्मीले बताउनु भयो ।
“अनुमति विना रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झैँ–झगडा गर्ने, अभद्र व्यवहार गर्ने लगायतका गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने छौ”, उहाँले भन्नु भयो, “अपरिचित मान्छेसँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छा विपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवम् लागूपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरुन्त प्रहरीको हट लाइन १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौ ।”

 

 

प्रतिक्रिया