पशुपालनमा रमाएका कावासोतीका नवराज


मध्यविन्दु (नवलपरासी), ३० चैत,(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूृर्व)को कावासोती नगरपालिका १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्ष देखि पशुपालनमा व्यस्त हुनुहुन्छ । रोजगारीको खोजीमा आठ वर्षे वैदेशिक रोजगारीको अनुभव सँगाल्नु भएका नवराज अहिले स्वदेशमै पशुपालनमा रमाउनु भएको छ ।
वैदेशिक रोजगारीमा रहँदा महिनाको ३० हजार कमाउने उहाँले अहिले मासिक ८० हजार बचत हुने गरेको बताउनु भयो । आफ्नो गाउँ घर छाडेर बिदेसी भूमिमा १२ घण्टा सम्म पसिना बगाउँदा पनि परिवार पाल्न धौ धौ भए पछि आफ्नै माटोमा कृषि तथा पशुपालन गर्ने अठोटका साथ व्यवसाय सुरु गरेको गौडेलले बताउनु भयो ।
“आठ वर्ष विदेश बसेर पनि सोचे जस्तो आम्दानी नभए पछि नेपालमै पसिना बगाउने सोच आएको हो”,उहाँले भन्नु भयो,“अहिले घर परिवार सँग दुख गर्दै खर्च कटाएर महिनाको ८० हजार सम्म जोगाउन सकेको छु ।”


सात लाखको लगानीमा वि.सं.२०७५ सालमा गौडेल गाई तथा कृषि फर्म स्थापना गरी २३ वटा गाई वाट सुरु भएको व्यवसायले सबै लगानी उठाएर फाइदा दिन थालेको छ । गाई भैँसीको आहारका लागि सात कठ्ठा जमिनमा उन्नत जातको घाँस खेती गरी यसलाई नियमित र दिगो वनाउन थालिएको गौडेलले बताउनु भयो ।
“बिहान चार बजे देखि साँझ सात बजे सम्म समय तालिका अनुसार श्रीमान् श्रीमती मिली गाई भैँसीको स्याहार सुसार देखि दूध विक्रीमा खटिने गरेका छौ”,उहाँले भन्नु भयो ।
आफ्नै गाउँ घरमा परिवार सँग मेहनत गर्न पाउँदा नवराज खुसी हुनु हुन्छ । साँझ बिहान परिवार सँगै दुख बिसाउँदै स्वदेशमै केही गर्न चाहनेका लागि पशुपालन अझै पनि राम्रो विकल्प रहेको उहाँको सुझाव छ । विदेशको भूमिमा तातो घाममा पसिना बगाउने दुखको केही अंश मात्र स्वदेशमा मेहनत गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने गौडेलले बताउनु भयो ।
“म पनि आठ वर्ष मरुभूमिको देशमा पसिना बगाएर आएको हुँ तर त्यहाँ दिनको १२ घण्टा काम गर्न पर्दथ्यो भने यहाँ दिनको छ घण्टा काम गरे पुग्छ”,उहाँले भन्नु भयो,“महिनाको ७०/८० हजार कमाउन १२/१३ वटा गाई भैँसी पाले मात्र पनि हुन्, घरकै दुई जनाले काम गरे हुन्छ, बाहिरी मान्छे पनि लगाउनु पर्दैन ।”


पाँच वर्षको पशुपालन अनुभवमा पछिल्लो वर्ष पशुमा देखिएको लम्की स्किन रोग र मिल्क होलिडेले केही समस्या सृजना गरे पनि व्यवसाय सम्हालिएको छ । लम्की स्किन रोग वाट दुई वटा गाई लाई असर गरे पनि नियमित सरसफाइ र औषधी उपचारले क्षति हुन नपाएको गौडेलले बताउनु भयो । घाँस परालको लागि कुनै समस्या नभए पनि दाना चापटको मूल्य निरन्तर बढिरहँदा कृषकहरूलाई मर्का परेको उहाँको गुनासो छ ।
“दाना चापटको मूल्य निरन्तर वढदो छ, भारत वाट दूध पनि नेपाल भित्रँदा यहाँ उत्पादन भएको दूधले बजार नपाउने अवस्था सृजना भयो”,उहाँले भन्नु भयो,“राज्य पक्षले यस्ता कुरामा अल्लि नियमन गरे कृषकलाई मार पर्दैन थियो कि ।”

प्रतिक्रिया