गाउँ घरमा जनै तयार पार्ने प्रचलन हराउदै, आयातित जनैकै भर


विष्णुप्रसाद गौडेल,मध्यविन्दु(नवलपरासी),१३ भदौ ,
हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गए पछि बजारमा खरिद गरि प्रयोग गर्ने क्रम बढेको छ ।
जनै घरमा नै तयार पार्ने प्रचलन हराउदै गए पछि बाह्य उत्पादको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी(बर्दघाट सुस्तापूर्व)कावासोती नगरपालिका ६ का खुमकान्त गौडेलले बताउनु भयो । पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफ्न्त सबैलाई पुर्याउँदै आएको भएतापनि पछिल्लो समय बजारवाट खरिद गरि प्रयोग गर्ने गरेको गौडेलले बताउनु भयो ।
“आजकालका युवाले नियमित जनै लगाउनै छाडे”उहाँले भन्नु भयो “पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिडिन्थ्यो अहिले कसैलाई फुर्सद नै छैन ।” गाउँमा अहिले जनै बाट्नै छाडिसकेको गौडेलले बताउनु भयो । जनै पुर्णिमाको लागि बजार वाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनु भयो ।
बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक फरक मूल्यमा पाउन सकिन्छ । बजारमा मेसिन वाट बनाइएको जनै प्रतिगोटा मूल्य छ रुपैयाँ र हातले बनाएको जनै प्रतिगोटा १५ रुपैया रहेको गणेश धार्मिक पसलका नारायण खनालले बताउनु भयो ।
“जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार पछिल्ला वर्षहरुमा वढ्दो रहेको छ” उहाँले भन्नु भयो “अहिले बजारमा बुटवल वाट आयात गरिएको स्वदेशी उत्पादन देखि भारत वाट आएका जनै र रक्षा बन्धन धागो आउने गरेको छ ।”
नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यता अनुसार जनै पूर्णिमाको लागि जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ । मंगलवार र बुधवार जनै किन्नेहरूको ठूलै भीडभाड रहेको व्यवासयी खनालले बताउनु भयो ।
विगतका वर्षहरुमा गाउँघरमा ब्राहमण तथा क्षेत्री समुदायका व्यक्तिहरुले १ महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताउनु भयो । “आफ्नै हातले धागो संग्ल्याएर, कत्वामा बाटेको जनै नै राम्रो हो, हिजो आज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भई सक्यो”उहाँले भन्नु भयो “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।”
पछिल्लो समय हिन्दु धर्मावलम्बीको पवित्र पर्वको रुपमा मनाइने जनैपूर्णिमाको महत्व नयाँ पुस्ताले विर्सदै गएको पण्डित भण्डारीले गुनासो गर्नु भयो । “रक्षाबन्धनका दिन नजिकैको धार्मीक मठमन्दिरमा गएर विधिपूर्वक पुजाआजा गर्नुपर्ने भएतापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ” उहाँले भन्नु भयो “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी(ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे(समाप्ति) को दिनका रुपमा जनै पूर्णिमालाई लिइने भण्डारीले बताउनु भयो । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँ ठाउँमा पुरोहितले विधि पुर्याएर पुजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने हो उहाँले भन्नु भयो ।
जनैपूर्णिमा(रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले सत्रुहरूबाट रक्षा हुने जनविश्वास रही आएको छ । “तागाधारीले कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।”उहाँले भन्नु भयो “हिन्दु धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैंको तीर्थस्थलमा गई मन्त्रोउच्चारण गरी विधिपूर्वक पुजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउँने परम्परा रही आएको छ ।” रासस

प्रतिक्रिया