एसइई नतिजा बिहीबार बिहान सार्वजनिक हुने


काठमाडौं, असार १० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार प्रकाशन हुने भएको छ ।

परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि बिहान ७ बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

यसअघि आज (बुधबार) नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले बिहीबार मात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।

प्रतिक्रिया