कावासोतीमा बाल भेला सम्पन्न


१५ जेठ,कावासोती , कावासोती नगरको आ.व. ०८१/०८२ को लागि बालबालिकाहरूको सवाल र योजना पहिचानको लागि बाल भेला सम्पन्न गरिएको छ । कावासोती नगर बाल सञ्जालका अध्यक्ष मनिष न्यौपानेको अध्यक्षता र नगर प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता नगरका सबै वडाबाट प्रतिनिधित्व हुने गरी सम्पन्न गरिएको महिला बालबालिका शाखाको रिता रिजालले बताउनुभयो ।

स्थानीय तहको योजना तर्जुमा प्रक्रिया चलिरहँदा बाल भेला पनि महत्त्वपूर्ण अङ्ग रहेकोले प्रत्येक वर्ष झैँ यो वर्ष पनि बालबालिकाहरूको माग र योजना सङ्कलनको लागि आयोजना गरिएको नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभयो । नगर प्रमुख भुसालले आफू बाल्यकालमा हुँदाको शिक्षा र अन्य अवस्थाहरू बताउँदै अहिले निकै नै सहज रहेकोले सबैले अनिवार्य र अनुशासित रूपमा अध्ययनको लागि आग्रह पनि गर्नुभयो । उहाँले मन्तव्यको क्रममा पहिला आफू पनि शिक्षक रहेकोले प्राथमिकता बालबालिकाको शिक्षा र उनीहरूको चौतर्फी विकास नै रहेकोले अहिले पनि निरन्तर लागिरहेको र निरन्तरता दिने बताउनुभयो ।

स्थानीय तहको सीमित साधन र स्रोतले गर्दा आशातीत काम गर्न नसकिएको भएता पनि नगरलाई बालमैत्री, किशोरी मैत्री गराउन प्रतिबद्धता जाहेर गर्नुभएको थियो । सो कार्यक्रममा बाल भेलाको सञ्चालन निर्देशिका अनुसार फरक फरक समूहमा बालबालिकाको समूह विभाजन गरी बालबालिकाहरूको समस्याहरू र सवालहरू र यसको समाधानको उपायहरू, बालबालिकालाई मन पर्ने र मन नपर्ने, बालबालिकाको दृष्टिकोणले पालिका कस्तो देख्न चाहनुहुन्छ भन्ने बारेमा सहजीकरण गरिएको सहजकर्ता दीपक शर्माले बताउनुभयो ।

बाल भेलामा बालबालिकाहरूले नगर र आफ्नो क्षेत्रमा रहेका व्याप्त समस्याहरूको बारेमा बताएका थिए । जसमा समाजमा व्याप्त सानो उमेरमा गरिने विवाह र बाल विवाह, बाल श्रम, विभेद, लागू औषध र चुरोट सुर्तीको खुल्ला रूपमा बिक्रिबितरण गरिने, बालबालिकालाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता नगराउने, हिंसा, शोषण, खेलकुदमा बालिकाको सहभागिता बढाउने क्रियाकलाप सञ्चालन नहुने, गरिब र कमजोरले शिक्षा हासिल गर्न समस्या रहेको भनी सोही अनुसारको योजना र नीतिहरूको निर्माणको लागि सुझावहरू दिनुभएको थियो । बाल भेलामा प्रत्येक वडास्तरिय बाल क्लब र नगर स्तरीय बाल क्लब र अन्य बालबालिकाहरू गरी ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया