महिनावारी सरसफाइ तथा स्वच्छता सम्बन्धी सचेतना कावासोतीमा सम्पन्न


१५ जेठ,कावासोती, महिनावारी सरसफाइ तथा स्वच्छता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा कावासोती वडा नं १२ मा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । आज मे २८ मा विश्वभर नै विभिन्न कार्यक्रमहरू मनाई रहेको सन्दर्भमा महिनावारी कुरा मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा नारा सहित अभिभावक र किशोरीहरूसँग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

जागृती बाल तथा युवा सरोकार नेपाल, कावासोती नगरपालिका वडा नम्बर १२ र नवलपुर किशोरी सञ्जालको संयुक्त आयोजना र क्यान्नलनको सहयोगमा सो छलफल कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत राधादेवी बोटेले बताउनुभयो ।

उक्त छलफल कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य, प्रजनन चक्रहरू, महिनावारीमा सरसफाइ र खानपानमा ध्यान दिनु पर्ने विषय, महिनावारी स्वच्छताको महत्त्व र यसको आवश्यकता बारे छलफल गरिएको थियो ।

साथै अभिभावक र किशोरीहरूबिच महिनावारीको आफ्नो आफ्नो व्यक्तिगत अनुभवहरू समेत आदानप्रदान गर्नु भएको थियो । कार्यक्रमको सभाध्यक्ष तथा कावासोती वडा नम्बर १२ को सदस्य होममाया नेपालीले का समुदायको सबै महिलाहरूले आफ्नो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार , महिनावारीको समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्ने तरिकाहरू र महत्त्वको बारेमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयो । आफ्नो छोरीहरूले अभियानकर्ताको रूपमा गाउँ गाउँमा सिकाउने अवस्था आयको र यसको नियमित र दिगोपनको लागि वडाले सधैँ सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बाल तथा किशोरी अभियन्ता रेजिना घर्ती मगर, मान्सु न्यौपाने र अनिता नेपालीले सहजीकरण गर्नु भएको थियो । कावासोती वडा नं १२ का वडा सदस्य होममाया नेपालीको सभाध्यक्षयतामा भएको उक्त कार्यक्रममा समुदायका महिला, अभिभावकहरू, आमा समूहका प्रतिनिधिहरू, बालबालिका, किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका राधा देवी बोटेले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै मे २८ को दिन महिनावारी दिवस मनाउनु र कार्यक्रम गर्नुको उद्देश्य बारे जानकारी दिनु भएको थियो छलफल कार्यक्रममा अभिभावक, महिला, बालबालिका, किशोर किशोरी, बाल तथा किशोरी अभियन्ताहरू गरी ३३ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया