लगातारको वर्षाले कालीगण्डकी कोरिडोर अवरुद्ध


मध्यविन्दु(नवलपरासी), १२ असोज,
कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी(बर्दघाट सुस्ता पूर्व) खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो र सडकमा रुख ढलेकाले यस सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो । बौदीकाली गाउँपालिकाको मचेडी देउसी खोल्सी र ठुलो खोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

त्यसै गरी गैँडाकोट नगरपालिका ३ च्यान डाँडामा सालको रुख ढलेकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी सहायक निरीक्षक सुक बहादुर गुरुङले बताउनु भयो ।
यस खण्डमा अहिले लगातार वर्षा भएकाले वर्षा रोकिए पछि मात्र सडक खुलाउने कार्य हुने बताइएको छ । कालीगण्डकी कोरिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
साथै लगातारको वर्षाले नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विभिन्न ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । जिल्लाको समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ भने पहाडी क्षेत्रमा पहिरोका कारण अहिले सडकहरू अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया