सदरमुकाम निर्माणका लागि एक अर्ब २१ करोड विनियोजन


नवलपुर, जेठ १५ गते । सरकारले नवलपरासी बर्दघाट सुस्ता पूर्व र रुकुम पूर्वको जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को आयव्ययको विवरण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी दिनुभएको हो ।

यी दुवै जिल्ला सङ्घीयता कार्यान्वयनमा आएसँगै टुक्रिएर बनेका हुन् । त्यसैले यहाँ पुराना संरचना नभएकाले नयाँ संरचना निर्माणका लागि रकम विनियोजन गरिएको हो । तर कुन जिल्लामा कति रकम विनियोजन गरिएको हो भन्ने खुलाइएको छैन ।

नवलपुरमा विभिन्न कारणले यसअघि दुई आर्थिक वर्षसम्म विनियोजित रकम फ्रिज भएर गएको थियो भने चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपियाँ र अर्थमन्त्रालयले सुनिश्चित गरेको ५० करोड रुपियाँले नवलपुर सदरमुकाममा भौतिक संरचना निर्माणको काम प्रक्रियामा गएको छ ।

नवलपुरमा नयाँ भवन निर्माणका लागि प्रतिवेदन स्वीकृत भएर बहुवर्षीय योजना पनि स्वीकृत भएको छ । भवन निर्माणका लागि २५ वटा निर्माण व्यवयसायीले टेन्डर हालेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । यो रकमले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बनाउने तयारी छ ।

सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने योजना बनाइएको छ । नमुना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने योजना छ । साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका आधुनिक संरचनासमेत निर्माण गर्ने योजना छ ।

प्रतिक्रिया