विनयी त्रिवेणी गाउँपालिका नवलपरासी पूर्वमा सबै भन्दा कम बेरुजु हुने पालिका


विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), १९ जेठ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका जिल्लामा सबै भन्दा कम बेरुजु हुने पालिका बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठ वटा पालिका मध्य विनयी त्रिवेणी गाउँपालिका सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार विनयी त्रिवेणी गाउँपालिकामा ०.५९ प्रतिशत बेरुजु रहेको उल्लेख रहेको छ । विनयी त्रिवेणीको कुल लेखापरीक्षण रकम एक अर्व ५८ करोड, २८ लाख, ८१ हजार मध्य ९३ लाख ८३ हजार बेरुजु कायम गरेको छ । जिल्लाका आठ वटै पालिका मध्य विनयी त्रिवेणी गाउँपालिकाको बेरुजु प्रतिशत सबै भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसअघिको ६० औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका आठ वटै पालिका मध्य सबै भन्दा धेरै बेरुजु कायम भएको विनयी त्रिवेणी गाउँपालिकाले एक वर्षमा सुधार गर्दै जिल्लामा नै सबै भन्दा कम बेरुजु भएको पालिका बन्न सफल भएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा विनयी त्रिवेणी गाउँपालिकामा एक अर्व ४४ करोड,३९ लाख ,३७ हजार लेखापरीक्षण गर्दा तीन करोड, ५९ लाख, ३७ हजार बेरुजु कायम गरेको थियो । यो कुल रकमको २.४९ प्रतिशत हुन आउछ ।
विनयी त्रिवेणी गाउँपाकिाले बेरुजु रकममा उल्लेख्य सुधार गर्न सफल हुनुमा जनप्रतिनिधि र कर्मचारीको सुशासन प्रतिको प्रतिवद्धा नै प्रमुख सुत्र रहेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
गाउँपालिकामा असल लेखा प्रणालि, बजेट कार्यान्वयनमा कानुन र ऐनको परिपालना, नीति कार्यक्रमको लक्ष र उद्धेश्य अनुरुप कार्यक्रम तर्जुमा लगाएतका माध्यम वाट बेरुजु कम गरिएको विनयी वित्रेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बोधराज बस्यालले बताउनु भयो ।
जिल्लामा सबै भन्दा कम बेरुजु विनयी त्रिवेणी गाउँपालिकामा ०.५९ प्रतिशत रहेको देखिन्छ भने सवै भन्दा धेरै हुप्सेकोट गाउँपालिकामा २.०४ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । त्यसैगरी गैँडाकोट नगरपालिका ०.७१, मध्यविन्दु नगरपालिका ०.९२, देवचुली नगरपालिका १.१०, बौदीकाली गाउँपालिका १.१८, बुलिङटार गाउँपालिका १.२७ र कावासोती नगरपालिकामा १.७५ प्रतिशत बेरुजु रहेको देखिएको छ ।
आर्थिक कार्यविधि ऐन–२०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।

 

प्रतिक्रिया