हुप्सेकोट गाउँपालिकामा कृषि प्रणालीलाई विषादी रहित बनाइने


विष्णु गौडेल, हुप्सेकोट, १२ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कृषि प्रणालीलाई विषादी रहित बनाइने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँ सभाबाट पारित भएको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा आगामी तीन वर्ष भित्र गाउँपालिकालाई कृषि प्रणालीमा विषादीको प्रयोगलाई शून्यमा झार्ने नीति लिइने उल्लेख गरिएको छ ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले कृषि उत्पादनमा जैविक तथा वनस्पतिजन्य मल तथा औषधीको प्रयोगलाई बढवा दिँदै अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्दै आगामी तीन वर्ष भित्र विषादीको प्रयोग पूर्ण रूपमा अन्त्य गर्ने बताउनु भयो ।


साथै गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि ‘फर्क युवा गाउँमा, उद्यम गरौँ यही ठाउँमा’ भन्ने नारा सहित युवाहरूलाई स्वरोजगार मूलक कृषि व्यवसायमा लाग्न प्रोत्साहन गर्ने भएको छ । “युवाहरूलाई दिगो रूपमा आबद्धता गराउनका लागी कृषिमा यान्त्रीकरण, आधुनिकीकरण, विविधीकरण तथा बजारीकरण गरी कृषि पेसालाई सम्मानजनक मर्यादित पेसा बनाउने नीति लिएका छौ”,अध्यक्ष पाण्डेले भन्नु भयो ।

कृषि क्षेत्रको प्रवर्धनका लागि मागको आधारमा फलफूल खेतीमा अनुदान, टनेल तरकारी र नर्सरी स्थापनाका लागि अनुदान र तालिमको व्यवस्था गर्ने नीति लिइएको छ । हुप्सेकोट गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार कृषि लाई नै मानेकाले बजेटमा पनि यसैलाई प्राथमिकता दिइएको अध्यक्ष पाण्डेले बताउनु भयो ।आगामी आर्थिक वर्ष देखि गाउँपालिकाले ‘हुप्सेकोट किसान कल सेन्टर’ स्थापना गरी सहज सेवा प्रदान गर्ने घोषणा गरिएको छ ।

“किसान कल सेन्टर मार्फत कृषकलाई सम्पूर्ण परामर्शका साथै बजारीकरणमा सहयोग गरिने उद्देश्य लिएको छ ”,उहाँले भन्नु भयो,“कार्यविधि बनाएर किसानलाई निःशुल्क सेवा दिने गरी अगाडि बढ्ने छौ ।”
आगामी आर्थिक वर्ष देखि हुप्सेकोट गाउँपालिका भित्र उत्पादन हुने रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्ने तयारी गरिएको छ । यहाँ उत्पादन हुने गहत, सिल्टुङ्ग, सामा काउनो, जुनेलो, थारु आलु, अनदि(जर्नेली), झिनुवा धानका रैथाने बालीको संरक्षण तथा प्रवर्धन गरिने हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह रानाले बताउनु भयो ।
“आधुनिक कृषि प्रविधि अवलम्बन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै कृषिमा आधारित उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने छौ”,उपाध्यक्ष रानाले भन्नु भयो ।

हुप्सेकोट गाउँपालिकाले स्थानीय(लोकल) कुखुराको व्यावसायिक उत्पादन वृद्धि गर्नका लागि ‘एक वडा एक फर्म कार्यक्रम’ सञ्चालन गर्ने घोषण गरेको छ । हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीका अनुसार गाउँ गाउँका कृषकलाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने नीति लिइएको हो । मासु र दुग्ध जन्य पदार्थको उत्पादनमा दिइने अनुदानलाई निरन्तरता दिई यस वर्ष देखि महको उत्पादनमा वृद्धि गर्न मौरिपालक कृषकलाई उत्पादनमा आधारित अनुदान व्यवस्था गरिने पराजुलीले बताउनु भयो ।

“स्वस्थ पशुः स्वच्छ उत्पादन को नारा सहित घर दैलो उपचार सेवाको व्यवस्था मिलाउँदै पशुमा निःशुल्क कृत्रिम गर्भाधान सेवाको माध्यमबाट उन्नत नस्ल सुधारको कार्यक्रम सञ्चालन गरिने छ”,उहाँले भन्नु भयो ।

प्रतिक्रिया