देशको कुल गार्हस्थ उत्पादनमा गण्डकीको योगदान नौ प्रतिशत


 जेठ ९ गते । देशको कुल गार्हस्थ उत्पादनमा गण्डकी प्रदेशको योगदान नौ दशमलव शून्य छ प्रतिशत रहने देखिएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष दुवैमा गण्डकीको योगदान समान रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यालयले बुधबार पोखरामा प्रादेशिक कुल ग्रार्हस्थ उत्पादन अनुमान सार्वजनिक गर्दै यस्तो जनाएको हो । तथ्याङ्क अधिकृत शिव श्रेष्ठले गण्डकीको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालु आर्थिक वर्षमा पाँच खर्ब १७ अर्ब रहने जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको चार खर्ब ८४ अर्ब हुने संशोधित अनुमान छ । चालु वर्ष राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन ५७ खर्ब पाँच अर्ब रहने अनुमान छ ।

कार्यालयका निर्देशक डा ज्ञानेन्द्र बज्राचार्यले गत वर्ष उत्पादनको वृद्धिदर तीन दशमलव तीन प्रतिशत र चालु वर्ष चार दशमलव पाँच प्रतिशत रहने तथ्याङ्क प्रस्तुत गर्नुभयो । गण्डकीको कुल गार्हस्थ उत्पादनमा कृषि, वन र मत्स्य क्षेत्रको योगदान २५ दशमलव सात दुई प्रतिशत देखिएको छ ।

कार्यालयको तथ्याङ्क तीनै तहका सरकारलाई योजना निर्माण, कार्यान्वयन र भावी रणनीति निर्माणमा सहयोग हुने निर्देशक बज्राचार्यको भनाइ छ । आगामी वर्ष देशको कुनै एक स्थानीय तहको कुल गार्हस्थ उत्पादन निकाल्ने र त्यसलाई अरु स्थानीयहरुले पनि अनुशरण गरी योजना निर्माण गर्न सक्ने उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्ष र गत आर्थिक वर्ष दुवैमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन सबैभन्दा बढी बागमती प्रदेशको रहने देखिएको छ । ०७९-०८० को संशोधित प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन बागमतीको दुई हजार चार सय ८४ अमेरिकी डलर र यो आर्थिक वर्ष दुई हजार चार सय ८५ डलर रहने अनुमान छ । सातै प्रदेशमध्ये मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा कम छ ।

अघिल्लो आर्थिक वर्षको संशोधित र चालु वर्ष दुबैमा गण्डकी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन प्रदेशमा दोस्रो छ । गण्डकीमा गत वर्ष एक हजार चार सय ८८ डलर रहने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित अनुमान त्यसभन्दा बढी एक हजार चार सय ९९ डलर हुने प्रक्षेपण छ । यो वर्ष गण्डकीमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन एक हजार पाँच सय ५७ डलर हुने कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया