सहकारीको रकम हिनामिनामा सांसद सहित ३५ जनाविरुद्ध मुद्धा चलाउन सिफारीस


मध्यविन्दु (नवलपरासी), ११ जेठ, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसद सहित ३५ जनालाई मुद्धा चलाउन प्रहरीले सिफारीस गरेको छ । बचतकर्ताको १६ करोड ५८ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाबिरुद्ध मुद्धा चलान राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको हो ।

राप्रपाबाट बर्दियाका प्रतिनिधि सभा सदस्य गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो ।
“प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा नै रहेका छन्, सांसद बस्नेतसहति २५ जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको छ”,उहाँले भन्नु भयो,“सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपियाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएका छौ ।”

रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ । सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई विनाधितो ऋण प्रवाह गरेको अनुसन्धामा देखाएको प्रहरी उरीक्षक रेग्मीले बताउनु भयो ।
“सेयर सदस्य समेत नरहेका व्यक्तिलाई नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ”,उहाँले भन्नु भयो,“नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब एक करोड रकम लगिएको छ।”
राप्रपाबाट प्रतिनिधि सभा सदस्य गीता बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पुर्जी जारी गरे पनि संसद बस्नेत अझै फरार हुनुहुन्छ ।

संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था विपरित व्यवस्थापक पाण्डे आफैले ऋण उपसमितिको माइन्यूट उठाएर बिनाधितो आफु निकटकालाई कर्जा प्रबाह गरेको प्रहरी अनुसन्धान वाट खुलेको छ । कर्जा समितिका संयोजक श्याम भुसालले आफुहरु सम्बद्ध समितिका तीन जनालाई थाहै नदिइ पाण्डेले एक सय ४० जनालाई ऋण दिएको बताउनु भयो ।
“ऋण दिने नक्कली माइन्यूट खडा गरेर एक सय ४० जनालाई पटक पटक गरेर पाण्डेले एक करोड ८५ लाख कर्जा दिएका छन्”,उहाँले भन्नु भयो,“उनले खडा गरेको नक्कली माइन्यूटमा कर्जा समितिका संयोजक र दुई जना सदस्यहरुको नाम उल्लेख छ तर हस्ताक्षर छैन् ।”
२०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।

 

प्रतिक्रिया