नवलपरासी पूर्वमा आलु खेतीको क्षेत्र र उत्पादन बर्सेनि बढ्दै


विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), ११ जेठ,(रासस),
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा आलु खेती गरिने क्षेत्र र उत्पादन बर्सेनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र सँगै स्थानीय पालिकाले आलु खेती प्रवर्द्धन अन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न थाले पछि आलु खेती तर्फ कृषकहरू आकर्षित भएका छन् ।
जिल्लामा यो आर्थिक वर्षमा तीन हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनु भयो । यस वर्ष ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको छ ।
“गत आर्थिक वर्ष तीन हजार एक सय ७५ हेक्टरमा आलु खेती भएकोमा यो वर्ष ३० हेक्टर जमिनमा थप विस्तार भएको छ ”उहाँले भन्नु भयो “गत वर्ष जिल्लामा ५७ हजार तीन सय ५४ मेट्रिक टन आलु उत्पादन भएको थियो, गत वर्ष भन्दा यस वर्ष उत्पादन एक हजार ५९ मेट्रिक टनले बढेको छ ।”
जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलु खेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको छ । जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिदा ५० हजार एक सय ५२ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार एक सय १० हेक्टर क्षेत्रफलमा ५२ हजार नौ सय ९० मेट्रिक टन उत्पादन भएको थियो ।
“आलु उत्पादनका हिसाबले नवलपरासी(बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ” सूचना अधिकारी काफ्लेले भन्नु भयो “सरकारी तह वाट लगानी वृद्धि हुँदा कृषकहरू आलु खेती तर्फ आकर्षित भएका छन् ।”
जिल्लाको मध्यविन्दु, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनु भयो । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँ लगायतका बजारमा जाने गरेको छ ।

प्रतिक्रिया