जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना 


८ जेठ २०८१ ।  नवलपुरका पत्रकार प्रकाश रेग्मीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । मध्यविन्दु नगरपालिकामा रहेको सामुदायिक रेडियो दर्पण एफएम ९९।२ मेगाहर्जमा कार्यरत रेग्मीले जेठ ८ गते आफ्नो जन्मदिनको अवसरमा मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । पत्रकार रेग्मीले जन्मदिनको नाममा गरिने भड्किलो खर्चलाई समाजसेवाको क्षेत्रमा लगानी गर्ने ध्येयका साथ आफूले जन्मदिन विशेष अक्षयकोष को सुरुवात गरेको बताउनुभयो ।
उहाँले तीन हजार रुपैयाँको अक्षयकोष सुरु गरेको र बर्सेनि  रकम थप्दै लैजानेसमेत बताउनुभयो । साथै मध्यविन्दु नगर युवा सञ्जालका सचिव समेत रहनु भएका पत्रकार प्रकाश रेग्मीले सम्पूर्ण युवालाई जन्मदिन वा अन्य कुनै अवसरका नाउँमा गरिने खर्चलाई सकारात्मक स्थानमा लगानी गर्न समेत आग्रह गर्नुभएको छ । मङ्गलवार लक्ष्मी आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसाललाई सो रकम हस्तान्तरण गरिएको हो ।
जन्मदिन विशेष अक्षयकोष को रकम ग्रहण गर्नुहुँदै प्रधानाध्यापक भुसालले यस प्रकारका कार्यको थालनी गरेकोमा पत्रकार रेग्मीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
भुसालले यस रकमको सही सदुपयोग गर्ने र यस रकममा शिक्षक, विद्यार्थीको जन्मदिनमा गरिने सहयोग पनि मिलाई थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानाध्यापक ऋषिराम भुसालले अनावश्यक गरिने खर्चलाई शिक्षा क्षेत्रमा लगानी गर्नुले सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया