नवलपुरमा १९ हजारभन्दा बढी बालबालिकालाई खोप लगाइने


मध्यविन्दु (नवलपरासी), १० जेठ
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा १९ हजार पाँच सय २९ जना बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । यही जेठ १३ देखि २५ गतेसम्म दुई चरणमा जिल्लाका आठ वटा पालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिङले बताउनु भयो ।
“पहिलो चरण जेठ १३ देखि १९ गतेसम्म गैँडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ”,उहाँले भन्नु भयो,“दोस्रो चरणमा जेठ २० देखि २५ गतेसम्ममा कावासोती, मध्यविन्दु, देवचुली नगरपालिका ,हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा खोप लगाइनेछ ।”
कुनै पनि बालबालिका आइपिभी खोपबाट वञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा तीन सय ९१ खोप केन्द्र निर्धारण गरी चार सय ९४ जनशक्ति परिचालन गरिएको खोप फोकल पर्सन खरेल प्रसाद चौधरीले बताउनु भयो । “खोप अभियान सफल बनाउन नौ सय ६६ जना स्वयंसेवक परिचालन गरिने छ”,उहाँले भन्नु भयो,“जिल्लाका चार सय ३२ विद्यालयलाई आधार मानेर खोप अभियान सञ्चालन गरिने छ ।”
जिल्लाका आठ वटै स्थानीय तहमध्य गैँडाकोट नगरपालिकामा चार हजार तीन सय ३१, कावासोती नगरपालिकामा चार हजार आठ सय ५३, देवचुली नगरपालिकामा तीन हजार तीन ९८, मध्यविन्दु नगरपालिकामा दुई हजार आठ ९८, विनयीत्रिवेणी गाउँपालिकामा दुई हजार ७३ जना , हुप्सेकोट गाउँपालिकामा एक हजार एक सय १३, बौदिकाली गाउँपालिकामा चार सय ५८, बुलिडटार गाउँपालिकामा चार सय ३४ गरी १९ हजार पाँच सय २९ जनालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने चौधरीले जानकारी दिनुभयो ।
यो अभियानमा वि.सं.२०७३ वैशाख १ गते देखि वि.सं.२०७५ असोज मसान्त सम्म जन्मिएका बालबालिकालाई खोप लगाइने भएको छ । सन् २०१६ देखि २०१८ को बिचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।
सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले सरकारले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग आवश्यक समन्वय गरिसकिएको र सबै तयारी पुरा भएको चौधरीले जानकारी दिनु भयो ।
विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप अभियान सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष राखिएको छ ।

प्रतिक्रिया