विनयी त्रिवेणी ७ मा अभिभावकलाई प्रशिक्षण


१७ असार,
अभिभावकको भूमिका र उनीबाट प्राप्त हुने शिक्षाले नै बालबालिकाको सिकाइ निर्भर गर्ने शिक्षा सरोकारवालाहरूले बताएका छन् । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ ले आयोजना गरेको अभिभावकलाई अभिमुखीकरण कार्यक्रममा सहभागिले परिवार र विद्यालयबाट बालबालिकालाई संस्कारी शिक्षाको आवश्यकता रहेको बताएका हुन् ।
बालबालिकाको उज्वल भविष्य संस्कारसहितको शिक्षाबाट मात्रै सम्भव हुने विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष उमेश कार्कीले बताउनु भयो । असल संस्कारमा हुर्किएका बालबालिकाको सिकाइ र भविष्य सुन्दर हुने भन्दै वडा अध्यक्ष कार्कीले संस्कारसहितको शिक्षा वडा भित्र अनिवार्य गरिने बताउनु भयो ।


विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ का वडा सदस्य शोभा क्षेत्रीले बालबालिका विभिन्न क्षेत्रबाट विद्यालय पुग्ने र त्यहाँ सबै किसिमको संस्कार मिसिने भएकाले राम्रो संस्कार घरबाट सिकाउनुपर्ने बताउनु भयो । बालबालिकाको भविष्य सुन्दर बनाउन अभिभावकले नै चासो राख्नुपर्ने वडा सदस्य क्षेत्रीले सुझाव दिनु भयो ।


साना बच्चाले ठूलो मान्छेले जे गर्यो त्यही सिक्ने भएकाले घरबाट नै बच्चालाई सभ्य, कुशल र दक्ष बानाउन राम्रा कुरा र संस्कार सिकाउनुपर्ने प्रशिक्षक चिरञ्जीवि गौडेलले बताउनु भयो । पछिल्लो समय बालबालिकामा संस्कार–सहितको शिक्षा आवश्यक रहेको बताउदै उहाँले अबको शिक्षालाई संस्कार र व्यावहारिक कुरालाई प्राथमिकतामा राख्न जरूरी रहेको औँल्याउनु भयो ।
“अहिले नै राम्रो बानीको विकास गर्न, गराउनका लागि सर्वप्रथम अभिभावक नै सक्रिय बन्नु पर्छ” प्रशिक्षक गौडेलले भन्नु भयो“पहिलो पाठशाला नै घर भएकाले घरको जुन वातावारणमा बालबालिका हुर्किएका छन् उनीहरूको भविष्य त्यही वातावरणमा निर्भर रहने गर्दछ ।”


अहिलेका विद्यार्थीलाई भयरहित वातावरण र प्रोत्साहनको आवश्यकता रहेकाले विद्यार्थीले गरेर सिक्ने वातावरण शिक्षक, अभिभावक र विद्यालयले निर्माण गर्नुपर्ने र प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थी यान्त्रिक बन्दै गएको हुनाले उनीहरुलाई घर परिवार, गाउँ, समाजका हरेक गतिविधिमा संलग्न गराउनु पर्ने कुरामा जोड दिईएको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर ७ को आयोजना र मध्यविन्दु संचार सेवाको संयोजनमा अभिभावकहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चालन गरिएको थियो । कार्यक्रममा वडा भित्रका एक सय भन्दा धेरै अभिभावकहरुको सहभागिता रहेको थियो । सहभागि अभिभावकले समय सापेक्ष कर्याक्रम गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । आगामि दिनमा पनि अभिभावक प्रशिक्षण कार्यक्रमलाई वृहत रुपमा सञ्चालन गर्न सहभागिले सुझाव दिएका थिए ।

प्रतिक्रिया