हुप्सेकोट गाउँपालिकामा संविधान दिवसका अवसरमा विशेष समारोह सम्पन्न 


हुप्सेकोट, ३ असोज ,
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा विशेष समारोह सम्पन्न भएको छ । विभिन्न जात जातिको कला संस्कृति प्रस्तुति, सम्मान, शुभकामना आदानप्रदान र दीपावली सहित हुप्सेकोट गाउँपालिकामा संविधान दिवस मनाइएको हो ।
संविधान दिवस विशेष समारोहमा शुभकामना व्यक्त गर्नु हुँदै संविधान सभा सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य महेन्द्र ध्वज जिसीले नेपालको संविधान २०७२ ले सार्वभौम नेपालीलाई अधिकार सम्पन्न बनाएको बताउनु भयो ।
गाउँ गाउँका जनतालाई राज्यको अनुभूति दिलाउने र समान हैसियत अहिलेको संविधानले प्रदान गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सीमान्तकृत समुदायको समावेशिता सहित गाउँ गाउँका जनतालाई समानता नेपाल संविधान २०७२ जारी भएको पछि प्राप्त भएको बताउनु भयो ।
महिला, दलित, आदिवासीको सहभागिता सँगै लोकतन्त्रको पूर्ण अनुभूति प्रदान गर्ने नेपालको संविधान उत्कृष्ट रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्ण सिङ रानाले नेपालको संविधानले दिएका अधिकार प्रयोग गर्दै देशको विकास गर्नु पर्ने बताउनु भयो । अहिले युवाहरू देशमा बस्न नखोजी रहेको अवस्थामा अहिलेको संविधानले दिएका राम्रा कुराहरूको व्यवहारमा प्रयोग गर्नु पर्ने उपाध्यक्ष रानाको जोड थियो ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले संविधानको प्रमुख विशेषताहरू प्रकाश पर्नु भएको थियो ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिका शिक्षा समितिका सदस्य भिमनारायण रेग्मी, सङ्घीय समाजवादीका प्रतिनिधि लालबहादुर पाटा, नेकपा माओवादी केन्द्र नयाँ दत्त गौतम , नेकपा एमालेका गन बहादुर सारू , नेपाली काँग्रेसका टोप बहादुर सेन, नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष इन्द्रराज भट्टराई ,प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल लगाएतकाले बोल्नु भएको थियो ।
संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्ति एवं कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।
सो अवसरमा हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीहरू अधिकृत रवीन्द्र सापकोटा, रोजगार संयोजक तीर्थ रेग्मी, स्वास्थ्य शाखामा कार्यरत टेकनाथ न्यौपाने र ममता भुसाल ,सरु सुवेदी, सन्देश पन्थी, अन्जीता सारू , नागेन्द्र शाह , गणेश बहादुर ठकुरी, इन्द्र प्रसाद पाण्डे, कार्यालय सहयोगी फुल माया रोका विक र चोपबहादुर सिङ ठकुरी लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न जात जातिको मौलिक नृत्य, भेसभुसा प्रर्दशनि, विद्यालयका बालबालिकाको सांस्कृतिक प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

प्रतिक्रिया