हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजार रकम सहितको बैङ्क खाता उपहार


बिष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), ५ भदौ,(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दुई सय ५६ जना बालिकाहरूलाई पाँच हजार रकम सहितको बैङ्क खाता उपहार दिएको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत चार वर्षमा दुई सय ५६ जना बालिकाहरूको बैङ्क खातामा पाँच हजारका दरले रकम जम्मा गरिदिएको हो ।
आ.व. २०७७/७८ देखि सुरु गरिएको ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत गाउँपालिका भित्र जन्मने छोरीहरूको बैङ्क खातामा पाँच हजार रकम जम्मा गर्न सुरु गरिएको थियो । यसरी बैङ्क खातामा रकम जम्मा गर्ने क्रममा गत आव सम्ममा दुई सय ५६ जना बालिकाहरूलाई पाँच हजारका दरले १२ लाख ८० हजार रकम बैङ्कमा जम्मा गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।

“आव २०७७/७८ मा ३८ जना, ०७८/७९ मा ५९ जना, ०७९/८० मा ९७ जना र ०८०/८१ मा ६२ जना बालिकाहरूको बैङ्क खातामा रकम जम्मा गरिएको छ”,उहाँले भन्नु भयो,“छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैङ्क खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौ ।”
छोरीकै नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन् । छोरीको नाममा बैङ्क खातामा राखिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षा सहित बचत गर्ने बानीको विकाश गर्न यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
“यसरी बैङ्कमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ”,उहाँले भन्नु भयो,“छोरी जन्मँदा खुसी नहुने समाजमा छोरी प्रति सम्मान र आत्म निर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।”

गाउँपालिकाले छोरी जन्मिए पाँच हजार रुपैयाँ बैङ्क खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरेपछि छोरी जन्माउने अभिभावक शिशुको नामकरण पछि समयमै जन्म दर्ता सँगै बैङ्क खाता खोल्न जुट्ने गरेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले बताउनु भयो ।
“छोरी जन्माउने अभिभावक खुसी हुँदै गाउँपालिका र बैङ्क जाने गरेको पाएका छौ”,उहाँले भन्नु भयो,“छोरीप्रतिको सम्मान र भविष्यको सुनिश्चितताका लागि पनि यसले केही सन्देश दिएको छ ।”

हुप्सेकोट गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम कार्यविधि मार्फत यसका लागि केही सर्तहरू पुरा गर्नु पर्ने मापदण्ड पनि बनाएको छ । यस कार्यक्रममा सहभागी हनुका लागि हुप्सेकोट गाउँपालिका भित्र स्थायी बसोबास गरेका गर्भवती आमाले नियमित स्वास्थ्य परीक्षण गरेको, अस्पतालमा सुत्केरी भएको हुनु पर्ने छ ।

‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सञ्चालन गरिए पछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिने लगायतका सकारात्मक बानीको विकाश भएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीलले बताउनु भयो ।

प्रतिक्रिया