खेलकुदका सदस्य सचिव श्रीधर शर्मालाई गैँडाकोटमा स्वागत तथा सम्मान


गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई गैँडाकोटमा स्वागत तथा सम्मान गरिएको छ । शर्मालाई बिहीबार गैँडाकोट नगरपालिकाको कार्यालयमा स्वागत तथा सम्मान गरिएको हो । गैँडाकोट नगर खेलकुद विकास समिति, गैँडाकोट खेलकुद समिति, गैँडाकोट महिला फुटबल कल्ब, राष्ट्रिय तेक्वान्दो संघ गैँडाकोट, गैँडाकोट बक्सिङ कल्ब, गैँडाकोट नगर भलिबल संघ लगायत खेलसँग सम्बन्धित संघ संस्थाले संयुक्त रुपमा सम्मान गरेका हुन् । शर्मा नवलपुरको मध्यविन्दु २ निवासी हुनुहुन्छ । कानुन व्यवसायीसमेत रहनुभएका शर्मा भलिबल संघको केन्द्रीय सचिव समेत हुनुहुन्छ । एक हप्ता अघि मात्रै उहाँ गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त हुनुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै सदस्य सचिव श्रीधर शर्माले गैँडाकोटमा रहेको क्षेत्रीय रङ्गशाला, गैँडाकोट बहुउद्देश्यीय कर्भड हल, गैँडाकोट फुटसल कोर्ट, विपि अन्तर्राष्ट्रिय खेलकुद ग्राम, नवजागरण खेलकुद मैदान लगायतका खेल मैदान र उत्साही खेलाडीका कारण खेलको प्रचुर सम्भावना रहेको बताउनुभयो । साथै गैँडाकोटको खेल विकासका लागि आवश्यक भौतिक पूर्वाधार र नियमित प्रशिक्षणको लागि सहयोग गर्ने बताउनुभयो । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले यहाँको खेलको विकासका लागि आवश्यक पूर्वाधार र गर्नुपर्ने कामबारे अवगत गराउँदै नगरका तर्फबाट सक्दो सहयोग गर्दै आएको बताउनुभएको थियो । गण्डकी प्रदेश भलिबल संघका सदस्य एवं गैँडाकोट खेलकुद समितिका कोषाध्यक्ष गजेन्द्र वनले गैँडाकोटमा ५५ सालदेखी समितिले गरेका प्रगतिबारे अवगत गराउँदै यहाँको क्षेत्रीय रंगशालामा बन्दै गरेका संरचनाको पूर्णताको लागि सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की, गैँडाकोट खेलकुद समितिका उपाध्यक्ष रमेश तिवारी, जिल्ला बक्सिङ संघका उपाध्यक्ष दलबहादुर राना, एन्फा गण्डकी प्रदेश फुटबल संघका सदस्य दिलकुमारी घिमिरे, तेक्वान्दो संघ गैँडाकोटका गोपाल परियार, एन्फा रेफ्रि अमित घिमिरे लगायत खेलाडी, कोच, प्रशिक्षकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया