आज मगर एकता दिवस मनाइदैं, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक विदा


मध्यविन्दु,१५ फागुन,देशैभरका मगर समुदायले आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले नेपाल मगर संघको ४१ औं स्थापना दिवसमा सार्वजनिक विदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टा छुट्टै सुचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा फागुन १५ गते सोमबार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चार वटा गाउँपालिका र चार वटा नगरपालिका रहेको जिल्लामा मगर समूदायको बाहुल्यता रहेको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएका छन् ।
‘सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौं’ पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ ।
मगर बाहुल्यता रहेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर संघका इन्द्र फाल मगरले बताउनु भयो ।
मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघ संगै विदेशमा रहेका मगरसँग आवद्ध संघ संस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उहाँले बताउनु भयो ।
विभिन्न कारणले लोपउन्मूख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा साँस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ ।

 

प्रतिक्रिया