नवलपुरमा डेङ्गुबाट ८३ जना सङ्क्रमित


मीना कंडेल,कावासोती, भाद्र २७ गते । नवलपुरमा डेङ्गुको सङ्क्रमण दिनानुदिन बढ्न थालेको छ । असारको दोस्रो हप्तादेखि हालसम्म प्राप्त तथ्याङ्क अनुसार ८३ जनामा यो रोगको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाभित्रका स्वास्थ्य संस्थामा परीक्षण गराएकामध्ये ४९ जना पुरुष र ३४ जना महिलामा रोग पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कीटजन्य रोग फोकल पर्सन डिल्लीराम तिवारीले आठ स्थानीय तहमध्ये कावासोती नगरपालिकामा डेङ्गुको सङ्क्रमण बढी रहेको बताउनुभयो ।

यहाँ महिला ७ जना र पुरुष १२ गरी १९ जनामा देखापरेको छ । यस्तै, देवचुलीमा ६ जना महिला, ९ जना पुरुष गरी १५ जना, गैँडाकोटमा ९ जना महिला, ६ जना पुरुष गरी १५ जना, मध्येबिन्दुमा ४ जना महिला, ८ जना पुरुष गरी १२ जना, बिनयीत्रिवेणीमा २ जना महिला ८ जना पुरुष गरी १०, हप्सेकोटमा ६ जना महिला ५ जना पुरुष गरी ११ जना र बुलिङ्गटारमा एक जना गरी ८३ जनामा डेङ्गु सङ्क्रमण देखिएको  स्वास्थ्य कार्यालयले जनाएको छ ।

नवलपुरबाट अधिकांश चितवनलगायत जिल्ला बाहिर समेत परीक्षणका लागि जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताउनुभयो । जिल्लाभित्रका पोलिक्लिनिक लगायतका निजी अस्पतालको रेकर्ड प्राप्त हुन नसकेको साथै छिमेकी जिल्लामा अत्यधिक डेङ्गु रोगको पहिचान भएकाले पनि नवलपुरमा भने यकिन तथ्याङ्क पाउनै मुस्किल हुने गरेको बताउनुभयो ।

विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने यो अझै बढ्न सक्ने उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय नवलपुरमा अहिलेसम्म ८३ जना भएता पनि यो तथ्याङ्कभन्दा बढी रोगका सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन तिवारीले बताउनुभयो । यसअघि जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ७ का ६४ वर्षीय पुरुषको बुटवल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

डेङ्गु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् । यस्तै, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया