सरकारी वकिलको कार्यालयमा मिटरब्याज पीडितको प्रदर्शन


बोमलाल गिरी,नवलपुर, भदौ २७ गते । नवलपुरका मिटरब्याज पीडितले सरकारी वकिलको कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले लगेको मुद्दा सरकारी वकिलले दर्ता गर्न नमानेको भन्दै पीडितले सरकारी वकिलको कार्यालयमा प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडित रामप्रसाद महतोको उजुरीका आधारमा प्रहरीले कावासोती २ का अमृत भुसाललाई पक्राउ गरी २६ दिन हिरासतमा राखेर मुद्दा दर्ता गर्न जाँदा सरकारी वकिल हरि घिमिरेले प्रमाण नपुगेको भन्दै फिर्ता पठाइदिनुभएको थियो ।

भुसालले ३६ लाख लगानी गरेर महतोबाट २ करोड रुपियाँभन्दा बढी असुली गरेको, महतोको बैङ्क खाताबाट किर्ते हस्ताक्षर गरी भुसाल आफैले रकम निकालेको, उक्त हस्ताक्षर किर्ते भनी विधि विज्ञान प्रयोगशालाले पुष्टि गरेको प्रहरीको दाबी छ ।

प्रहरी र सरकारी वकिलबिच द्वन्द्व

प्रहरीले सबै प्रमाण पुर्‍याएर मुद्दा दर्ता गर्न जाँदा पनि सरकारी वकिलबाट कुनै सहयोग नपाएको प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयसँग जानकारी गराएको छ ।

प्रहरी प्रधान कार्यालयलाई बोधार्थसहित जिल्ला प्रहरी कार्यालय नवलपुरले प्रदेश प्रहरी कार्यालय, कास्कीलाई पत्र लेखी प्रतिवादी भुसालले आपराधिक, विश्वासघात, ठगी, अनुचित लेनदेन र किर्ते मुद्दाको अनुसन्धान गर्नका लागि आवश्यक निर्देशन दिन पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि सरकारी वकिलले कुनै वास्ता नगरेको उल्लेख गरेको छ।

प्रमाण नपुगेको भन्दै मुद्दा नै दर्ता नभएपछि साउन २१ गते पक्राउ परेका भुसाल २६ दिनपछि भदौ १३ रिहा हुनुभएको छ । त्यसैको विरोधमा झण्डै एक सय जनाको सङ्ख्यामा रहेका मिटरब्याज पीडितले सरकारी वकिलको कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन र जिल्ला अदालत अगाडि कोणसभा गरेका हुन् ।

उनीहरूले पैसामा न्याय विकेको आरोप लगाउँदै घिमिरेविरुद्ध चर्को नाराबाजी गरेका थिए । पीडितहरूले घिमिरेले पीडकसँग ४० लाख रुपियाँ घुस खाएर कीर्त्ते जालसाजीको मुद्दाको फाइल अगाडि नबढाएको आरोप लगाएका छन् । प्रहरीले भुसालसँग २७ जना पीडित रहेको जनाएको छ ।

प्रतिक्रिया