नयाँ पुस्ता जागरूक भए मात्र तिजको मौलिकता र परम्परा जोगाउन सकिन्छ : सांसद पौडेल


 कावासोती , १४ भाद्र ,गण्डकी प्रदेश सभा सदस्य एवं राप्रपा संसदीय दलका प्रमुख सचेतक बिन्दु पौडेलले तिज पर्वको मौलिकता र परम्परा जोगाउन नयाँ पुस्ता जागरूक हुनुपर्ने बताउनु भएको छ । शुक्रवार कावासोतीमा सायरा मिडिया एन्ड इभेण्ट्स प्रालिद्वारा आयोजित तिज पर्व : मौलिकता , सस्कृती , विकृति र प्रवृत्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पौडेलले नयाँ पुस्तालाई तिजको महत्त्व बुझाउन सके मात्र यसको मौलिकता र परम्परालाई जोगाउन सकिने बताउनु भएको हो ।

” युवा साथीहरूलाई हामीले तिजको धार्मिक , ऐतिहासिक र पारम्परिक महत्वका बारेमा बुझाउन आवश्यक छ । त्यति गरे मात्र यसको गरिमा जोगाउन सकिन्छ । ” सांसद पौडेलले भन्नुभयो । पछिल्लो समयमा तिजको नाममा विकृति भित्रिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ”

तिज मान्ने नाममा जे विकृत काम भएका छन् , त्यसले हाम्रो समाजलाई दूषित बनाएको छ । ” उहाँको भनाई थियो । स्कुल र कलेज तहबाट नै तिजको सौन्दर्य र महत्वका बारेमा बुझाउँदै लान सकियो भने बिस्तारै विकृति हट्दै जाने उहाँले बताउनु भयो । ” युवा हरूलाई नै जागरूक बनाउने हो , त्यो गर्न सके धेरै समस्या हल हुन्छ ।” उहाँले भन्नू भयो । पर्व मान्ने नाममा धनी र गरिब को बिचमा भिन्नता देखिन नहुनेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य ओमकला गौतमले कतिपय अवस्थामा हाम्रो आफ्नै कारणले पनि विकृति भित्रन सहयोग पुगेको भन्दै त्यस तर्फ सचेत हुनुपर्ने बताउनु भयो ।

” तिजमा विकृति आएका छन् , यसलाई रोक्न पर्छ तर परम्परा सँगै आएका कु-संस्कारलाई भने त्याग्दै जानू पर्छ ।” गौतमले भन्नू भयो । तिजको मौलिकता र सस्कृती सँग जोडिएका राम्रा कुरालाई प्रवर्द्धन गर्ने र कु-संस्कारलाई छाड्दै जानू पर्ने उहाँको भनाई थियो । तिज नेपाली नारीहरूको महान् पर्व भएकाले यो पर्व सँगै नारी हक अधिकारका कुरा पनि सँग सँगै लैजानु पर्ने उहाँको भनाई छ । कार्यक्रममा त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले अन्तरक्रियाको विषयवस्तु माथि प्रकाश पार्नु भएको थियो ।

तिजको मौलिक सस्कृती विकृति र प्रवृत्तिका बारेमा आफ्नो धारणा सहित विषय प्रवेश गराउँदै भुसालले तिजको मौलिकता र सस्कृती संरक्षणमा जोड दिनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुली , शैक्षिक व्यक्तित्व एवं सिद्धार्थ आवासीय माविका प्राचार्य भोजराज दाहाल , प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष दुर्गा विष्ट लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

सायरा मिडिया एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज प्राली र सेन्ट्रल कलेजले सहकार्य गरेका थिए । जनप्रतिनिधि , महिला अगुवाहरू , सामाजिक व्यक्तित्वहरू , टोल सुधार समितिका प्रतिनिधिहरू , विभिन्न स्कुल र कलेजका विद्यार्थीहरू लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण पत्रकार दीपेन्द्र रेग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया