नवलपुरमा १ लाख बढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने


नवलपरासी(बर्दघाट सुस्तापूर्वंं)मा फाल्गुन १३ गतेदेखि ९ महिनादेखि १५ बर्ष मुनीका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईका अनुसार नवलपुरमा १ लाख २२ हजार बालबालिकालाई उनीहरुकै विद्यालयमा गएर दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको हो । थोरै संख्यामा विद्यार्थी भएका बालबालिकालाई भने नजिकैको अर्को विद्यालयमा खोप लगाइने भएको छ ।
नवलपुरको गैडाकोट, बौदीकाली र बुलिङ्गटारमा फाल्गुन १३ गतेदेखि र देवचुली, कावासोती, हुप्सेकोट, विनयी त्रिवेणी र मध्यविन्दुमा भने फाल्गुन २० गतेदेखि खोप लगाइने छ ।

नियमित खोप लगाएका वा लगाउन छुटेका सबै र विद्यालयको पहुँच बाहिर भएका बालबालिकालाई पनि नजिकैको पायक पर्ने विद्यालयमा खोप लगाइने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख भट्टराईले बताए ।नेपालमा सन् २०१८ देखि नेपालमा रुवेला नदेखिए पनि सन् २०२३ को तथ्यांक अनुसार नेपालमा १ हजार ३ सय ४९ जनामा दादुरा देखिएको छ ति मध्ये १ जनाको निधन समेत भएको थियो । नेपालका तराईका जिल्लाहरुमा बढी मात्रामा दादुराका विरामीहरु देखिएका छन् ।

सन् २०२२ को तथ्यांक अनुसार नेपालमा अझै पनि ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको छ । नेपाल सरकारले नेपालमा सन् २०२६ सम्म नेपालबाट दादुरा रुवेवा निवारण तथा पोलियो उन्मुलन गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यो नहुने भएको छ । प्रतिबद्धता अनुसार नेपालमा कम्तिमा ३ बर्ष लगातार यस्ता रोग नदेखिएको हुनु पर्ने छ ।

१ सय जना बालबालिकामा दादुरा रुवेलाको खोप लगाइए पनि १ सय जनामा १० जना अर्थात १० प्रतिशत बालबालिकामा खोपले काम नगर्ने भएकोले राष्ट्रिय अभियान नै चलाएर दादुरा रुवेला विरुद्धको खोप लगाइने गरेको प्रमुख भट्टराईले बताए ।

प्रतिक्रिया