कायाकिङको राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर प्रथम


मध्यविन्दु (नवलपरासी), २२ माघ,
नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङको राष्ट्रिय स्तरको प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने प्रथम हुनु भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नारायणी नदीमा अयाोजना गरेको कायाकिङ प्रतियोगितामा सहभागि १९ प्रतिस्पर्धी मध्य डम्बरबहादुरले सात किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पार गर्दै प्रथम हुनु भएको हो । त्यसैगरी गोर्खाका दिपेश रानामगरले ३६ मिनेट १० सेकेन्डमा दुरी पार गरि दोस्रो हुन सफल हुनु भएको छ । चितवनका विजय गुरुङले ३७ मिनेट २१ सेकेन्डमा दुरी पार गरि तेस्रो हुनु भएको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो ।


प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने खेलाडिले क्रमश ४० हजार, २५ हजार र १५ हजार नगद प्राप्त गर्नु भएको छ । नारायणी नदीमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता सफल भएकाले आगामि वर्षको असोजमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने जल खेलकुद प्रतियोगिताका राष्ट्रिय प्रशिक्षक तथा निर्देशक निमबहादुर मगरले बताउनु भयो । नेपालमा कायाकिङ गर्ने दुई सय भन्दा बढी खेलाडी रहेको प्रशिक्षक मगरले जानकारी दिनु भयो ।
एक जना मात्र बस्न मिल्ने डुङ्गा अर्थात् कायकमार्फत खेलिने कायाकिङ साहसिक खेल विधामा पर्दछ । प्रतियोगितामा सहभागी खेलाडीले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिने छ ।


नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कायाकिङको प्रतियोगिता सफलता पूर्वक आयोजना हुनु आफैमा महत्वपूर्ण भएकाले खेल पर्यटनको गन्तव्यको रूपमा अगाडि बढाउन प्रतियोगिता कोशे ढुङ्गा साबित भएको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो ।

प्रतिक्रिया