गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरी विच भेटवार्ता


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उहाँहरुबिच भेटवार्ता भएको हो ।
भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरि प्रदेशबासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।
कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणकालागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दु्रत मार्ग निर्माण, तनहुँमा सय शैयाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई बताए ।
चिनको सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओ लगायत शहरहरुबाट नियमित सिधा उडानका लागि अनुरोध गरे । ‘यसले दुई देश बिच व्यापार, पर्यटन एवं जनसम्पर्कलाईपनि मद्धत पु¥याउनेछ’ मुख्यमन्त्री पाण्डेले भने ।
भेटका क्रममा सेक्रेटरी वाङ छुङछेङले कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको बताए । साथै उनले पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा चिनको शहरबाट सिधा उडान गर्ने विषयमा आफु प्रतिवद्ध रहेको बताउँदै प्राविधिक टिमलाई यसबारे अध्ययन गर्न पठाउने बताए । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै सेक्रेटरी वाङ छुङछेङले मुख्यमन्त्री पाण्डेलाई चिन र तिब्बतको भ्रमणको निम्ता दिए ।
तिब्बत सँगको सम्बन्ध अहिले मात्र नभई ईतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत संम्बन्धको स्मरण गरे । १२ औँ सताब्दी तिर अरनीको ले नेपाल चिनको संम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै उनले भने ‘घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै उत्कृष्ट द्धिपक्षीय सम्बन्धलाई सदियौँदेखि निरन्तरता दिईरहने मित्र राष्ट्र नेपाल र चिन पनि हो ।’
मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सेक्रेटरी वाङ छुङछेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्धिपक्षिय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रर्वद्धनमा थप मद्धत पुग्ने विश्वास व्यक्त गरे । भेटमा दुईदेश बीचको आपसी सम्वन्ध, सहकार्य र हितका अन्य विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया