गैँडाकोटमा बालबालिकालाई असल संस्कार कक्षा सञ्चालन


मध्यविन्दु (नवलपरासी), १४ कात्तिक, रासस
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ ।
समाजमा विकृति र विसङ्गति बढ्दै गएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो । बालबालिकाको लागि सञ्चालनमा आएको असल संस्कार कक्षामा दैनिक जीवनमा आवश्यक हुने नैतिक ज्ञान र संस्कारका कुरा सिकाउने गरिएको छ ।
गैँडाकोटकी ७ वर्षीय अनुश्री पौडेल हरेक शनिवार असल संस्कार कक्षामा जानुहुन्छ । प्रत्येक दिन बिहान सबेरै उठ्ने, हातको दर्शन गर्ने, नित्य स्नान गर्ने, भगवानको आराधना गर्ने र पढ्न लेख्न बस्ने उहाँको दैनिकी बनेको छ । असल संस्कार कक्षाले सबैभन्दा पहिला बालबालिकाहरूको नियमित असल दैनिकी बनाउन पहल गरेको अनुश्री पौडेलको भनाई छ ।
“हरेक हप्ताको शनिवार साथिहरू एकै ठाउँमा भेला भई खेल्दै रमाउँदै दैनिक व्यवहारका उपयोगी संस्कार सिक्ने गरिएको छ”,उहाँले भन्नु भयो ।
असर संस्कार कक्षामा ४० भन्दा बढी बालबालिका हरेक हप्ताको शनिवार उपस्थित भएर ज्ञानगुनका कुरा सिक्ने गरेका छन् । असल संस्कार कक्षामा बालबालिकाको रुचि अनुसार प्रविधिको प्रयोग मार्फत असल संस्कारहरू योग, ध्यान, प्राणायाम, व्यवहार कुशल सीपहरू, आचरणहरू सिकाउने गरिएको छ । असल संस्कार कक्षामा पुगेका बालबालिकाहरूले आफ्नो रुचि अनुसारका बालकथाका पुस्तकहरू पनि पढ्ने गर्दछन् ।
किताबी ज्ञान भन्दा पनि व्यवहारिक असल संस्कारका कुरा छोराछोरीलाई सिकाउन पाउँदा अभिभावक पनि खुसी भएका छन् । गैँडाकोट नगरपालिका–१ की शुसिला रेग्मी ६ वर्षकी छोरीसँगै आफू पनि असल संस्कार कक्षामा आउनुहुन्छ । कक्षामा सिकेका कुरा घरमा छोरीलाई अभ्यास गराउन उहाँलाई सजिलो भएको छ । ममी भन्ने छोरीले अहिले आमा भनेर बोलाउँदा शुसिला दंग पर्नुहुन्छ ।
“उनिहरूले आफ्नो घर परिवार, छरछिमेकमा कसरी बोल्ने, दैनिकी आचरण लगाएतका कुराहरू हामीले सिकाउदा भन्दा यहाँ धेरै सहज तरिकाले ग्रहण गरेको पाएका छौ”, उहाँले भन्नु भयो, “किताब र विद्यालय नसमेटिएको व्यवहारिक संस्कार सिक्न पाउदा खुसी छौ ।”
सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दै गएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले यसको सुरुवात गरिएको सहजकर्ता श्रीधर उपाध्यायले बताउनु भयो । यहाँ बालबालिकाले दैनिक जीवनलाई कसरी सहज र सभ्य तरिकाले सञ्चालन गर्ने भन्ने कुरा सिक्ने गरेका छन् ।
“बालबालिकाले घर परिवार देखि अन्य मान्छे सँग कसरी मित्रवत् व्यवहार गर्ने, घरमा आएका पाउनालाई कसरी सत्कार गर्ने यो सँगै बालबालिकाहरू अरू कसैको घरमा जादा उनिहरूले खोल्ने चप्पल देखि भित्र गएर बस्ने सम्मका संस्कार युक्त सिपहरू धेरै आवश्यकता पर्छ जुन अहिलेको विद्यालय शिक्षामा छुटिरहेका छन्, यसलाई हामीले पढाउने भन्दा पनि व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले सिकाइरहेका छौ”,उहाँले भन्नु भयो ।
श्रीमद्भागवत वाचीका यशोदा आमाजीले बालबालिकालाई असल संस्कार, नैतिक ज्ञान र सँगै भजनकीर्तन पनि सिकाउने गर्नु भएको छ । असल संस्कार सिकाउन सके उनीहरूको आनीबानीमा सकारात्मक परिवर्तन ल्याउन सकिने उद्देश्यले बालमैत्री असल संस्कार कक्षा सञ्चालन गर्न थालिएको श्रीमद्भागवत वाचीका यशोदा आमाजीले बताउनु भयो ।
“बालबालिकाहरू मोबाइलमा नै व्यस्त भई राख्ने जसले गर्दा उनिहरूको शारीरिक मानसिक विकाश हुन नसकेको अनि समाजमा घुलमिल हुन नसकेको धेरै अभिभावकहरू बाट गुनासो आउने गरेको थियो”,उहाँले भन्नु भयो “हाम्रो संस्कार, सभ्यता, अनुशासन, मर्यादा के हो भन्ने कुरा नै नयाँ पुस्ताका बालबालिकामा हराउदै गएको हुनाले यो एकदमै आवश्यक ठानेर यहाँ प्रारम्भ गरेका हौ ।”

प्रतिक्रिया