लोहासेश्वर मन्दिरमा भदौं १६ देखि महायज्ञ


मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिकामा अवस्थित लोहासेश्वर बाबा धाम (शिवालय) मन्दिरमा भदौं १६ गते देखि श्रीमद् भागवात महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव हुने भएको छ ।

मध्यविन्दु नगरपालिका ८ स्थित मन्दिर परिषरमा आयोजना हुने महायज्ञको तयारीका सम्बन्धमा बुधवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चोलानाथ ढकाल (संजोग)ले महायज्ञलाई सफल बनाउन बिभिन्न मुल समारोह समिति सहित विभिन्न उपसमितिहरु गठन भएको जानकारी दिनुभयो ।

धार्मिक तथा जनविश्वासको अस्थाको रुपमा रहेको लोहासेश्वर मन्दिरको स्तरउन्नती र यसको सर्वपक्षिय बिकासको लागि महायज्ञ आयोजना गरिएको उहाँले बताउनुभयो । मन्दिरमा दर्शन गर्दा आफ्नो मनोकामना पुराहुने जनविश्वास रहेको भन्दै सन्तान प्राप्तीका लागि समेत मन्दिरमा बर माग्दा पुरा हुने भएकाले सन्तानेश्वर महादेवको मन्दिर स्थापनामा समेत महायज्ञबाट प्राप्त हुने सहयोगलाई परिचालन गरिने उहाँले बताउनुभयो ।

महायज्ञबाट यस क्षेत्रको समग्र धार्मिक पर्यटनमा बृद्धि हुने विश्वास मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले गर्नुभयो । उहाँले मन्दिरको आफ्नै महत्व रहेको भन्दै मध्यविन्दु नगरपालिका भित्रका महत्वपूर्ण धार्मिक स्थलको रुपमा रहेको लोहासेश्वर मन्दिरको बिकासको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मध्यविन्दु नगरपालिका संस्थापक नगर प्रमुख चन्द्रबहादुर रानाले विभिन्न जातजाति र भाषाभाषीहरुको साँझा फुलबारीको रुपमा रहेको नेपालमा रहेका विभिन्न धार्मिक स्थलहरुको आफ्नै महत्व रहेको भन्दै लोहासेश्वर मन्दिर प्रतिको जनविश्वासलाई थप बृद्धि र आम धार्मिक व्यक्तित्व सम्म पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

महायज्ञको सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा मध्यविन्दु नगर उपप्रमुख पूर्णकला चौधरी सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

महायज्ञमा विभिन्न चरणमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मानको कार्यक्रमहरु समेत तय भएको मुल समारोह समिति संयोजक समेत रहनु भएका चोलानाथ ढकाल संजोगले बताउनुभयो । भदौ १६ देखि सञ्चालन हुने महायज्ञ भदौ २४ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया