शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा : नगर प्रमुख अधिकारी


भाद्र ६ । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरबासी नागरिकहरुले अनुभुति गर्नेगरी पूर्वाधार संगै मानविय बिकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ ।

बुधबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग भेटघाट तथा अन्तक्र्रिया गर्दै नगर प्रमुख अधिकारीले आम नागरिकहरुको चासो पूर्वाधार बिकासमा केन्द्रति भएपनि नगरपालिकाले पूर्वाधार संगै मानविय बिकासको क्षेत्रमा कामहरु गरिरहेको बताउनुभयो । ह्याप्पीनेश करिकुलम निर्माण, सहज स्वास्थ्य सेवा पहुँच, वातावरणीय प्रदुषण नियन्त्रण लगायको क्षेत्रमा नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा ठुला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बहुवर्षिय योजना मार्फत पूर्वाधार बिकासको काम भइरहेको भन्दै उहाँले नगर अस्पताल, अरुणखोलामा सभाहल, कोल्हुवामा बजार बिस्तारको काम अगाडी बढेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर जीवन उपयोगी शिक्षाको रुपमा हाम्रो खुसी पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहेको भन्दै अबको विद्यार्थी सवल, सक्षम, उत्कृष्ट सहित समाज बुझ्ने हुने बताउनुभयो । उहाँले नगरको समग्र शैक्षिक गतिविधिलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउनुभयो ।

उहाँले मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने विपन्न माझी मुसहर र बोटे समुदायका परिवारलाई निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । नगरभित्रका सबै विपन्न परिवारलाई निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको भएपनि नेपाल सरकारले गरिव परिचय पत्र वितरणको कामलाई टुंगोमा पुर्याउन नसक्दा अहिले पहिलो चरणमा माझी मुसहर बोटे समुदायमा यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिका रहेका भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको समस्या समाधानको लागि नगरपालिकाबाट नापीको काम भइरहेको भन्दै अब नगरभित्रका भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

मध्यविन्दु नगरपालिकाको कार्यालयमा भएको भेटघाट कार्यक्रममा पत्रकारहरुले नगरपालिकाले अगाडी सारेको हाम्रो खुसी पाठ्यक्रम, नारायणी तटबन्धन, मानविय बिकास सुचांक, समृद्ध मध्यविन्दु खुशी नगरबासी निर्माणको आधार लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

मध्यविन्दु नगरपालिकाले आन्तरिक सुशासनलाई प्राथमिकता राख्दै नियमित सार्वजनिक सुनुवाई, समाजिक परिक्षण लगायतको काम गरिरहेको भन्दै त्यसैको निरन्तरताको रुपमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

उहाँले जिल्ला भित्र रहेका विभिन्न स्थानीय तहहरुका साँझा मुद्दाको सम्बन्धमा एकरुकताका साथ प्रदेश, संघ सरकारलाई घचघचाउने काम समेतको थालनि भएको बताउनुभयो । चुरे क्षेत्र, मध्यवर्ती, नारायणी नदी तटबन्धन लगायको काम विषयमा प्रदेश र संघिय सरकारले यहाँ स्थानीय तहहरुको मागलाई समेत सम्बोधन गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया