जंगलमा छाडनका लागि १० बटा गिद्ध जटायु रेस्टुरेन्ट ल्याइयो


बिष्णु गौडेल ,मध्यविन्दु,(नवलपरासी पूर्व),२२ कात्तिक (रासस),
गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० वटा गिद्ध जाटायु रेष्टुरेन्ट पिठौली मा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको १० बटा गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासी पूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जंगलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छोड्नका लागि स्थानान्तरण गरिएको हो । संरक्षण विज्ञ डीवी चौधरीका अनुसार कसरामा सन् २००८ देखि हुर्काइएका माउ एवम् चल्ला गिद्ध कावासोती स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा खोलिएको जटायू रेष्टुरेन्ट नजिकबाट प्रकृतिमा ( जंगलमा) छाडनका लागि तयारी गरिएको छ । कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ बटा गिद्धलाई अहिले सम्म जंगलमा छाडिसकिएको छ । जंगलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुटामा सेटलाइट ट्याग लगाएर छाडने गरिएको संरक्षण विज्ञ चौधरीले वताउनु भयो ।“खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ ”उहाले भन्नु भयो “यहां वाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा रहेकाछन् दैनिक मनिटरिङ गरिन्छ । ”अहिले ल्याइएको गिद्धलाई आगामि मार्च महिनामा जंगलमा छाड्ने तयारी गरिएको छ । जंगलमा छाडन भन्दा अगाडि तिनिहरुलाई प्रकृतिमा बाच्न, आहारा खोज्न, मौसम अनुसार बस्न अभ्यस्त गराउने गरिएको छ ।
लोपोन्मुख गिद्धको संरक्षण गरेर संख्या बढाउन भन्दै २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेष्टुरेन्ट सुरु गरिएको हो । त्यो रेष्टुरेन्टमा बुढयौली लागेका चौपाय आहारा दिएर गिद्धलाई लोभ्याइन्छ ।
नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायू रेष्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । नेपालमा अहिलेसम्म ५९ वटा गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जंगलमा छोडिएको छ ।
जंगली ४० वटा गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जंगलमै छोडिएको छ । लोपोन्मुख गिद्ध संरक्षणको अभियान स्वरुप नेपालमा हाल ९ प्रजातीका गिद्ध पाइन्छ । नेपालमा पाईने गिद्ध मध्य जटायू रेष्टुरेन्ट पिठौलीमा ८ प्रजातिको गिद्धको बासस्थान रहेको । नेपालभर करीब १५ हजारको संख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।

 

 

प्रतिक्रिया