नारायणगढ–बुटवल सडक : ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी


नवलपरासी – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन शुरु भएपछि सडक बिस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिनुभयो ।

नारायणगढ–बुटवल सडक बिस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन लिमिटेड चाइनाको सरकारी निर्माण कम्पनी भएकाले काम चाँडो गराउन कूटनीतिक पहल गरिएको उहाँले बताउनुभयो । निर्माण कम्पनीको दोस्रोपटक थप गरिएको म्याद गत साउन ८ गते सकिएपछि अहिले एक वर्षका लागि तेस्रोपटक म्याद थप गरिएको छ । अहिले थप गरिएको म्याद नै अन्तिम म्याद भएको भन्दै ढकालले थप भएको समयका काम पूरा नगरे ठेक्का तोड्ने प्रक्रियामा जाने बताउनुभयो ।

निर्माण कम्पनीले असार लागेदेखि नै सडक बिस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो । मनसुनका कारण स्थगित भएको सडक कालोपत्र गर्ने काम मौसममा सुधार भएपछि पुनः शुरु गरेको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्ड प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया