कावासोतीमा लोपउन्मुख डङ्गर गिद्ध मरे


नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा लोपउन्मुख डङ्गर जातका गिद्ध मृत फेला परेका छन् । जिल्लाको कावासोती नगरपालिका –३, स्थित नमूना सदरमुकाम नजिक केरुङ्गे खोला नजिक चार वटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो ।
आज साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन् । गिद्ध विषाक्त मासु खाएका कारण मरेको हुन सक्ने संरक्षणकर्मी चौधरीले बताउनुभयो । ‘चार वटा गिद्ध मृत भेटिएका छन्, बिसाक्क्त खानाकै कारण मरेको अनुमान छ’ संरक्षणकर्मी चौधरीले भन्नुभयो । साँझको समय भएको र चारवटा गिद्ध फेला परेको भएपनि अन्य गिद्ध समेत मरेको हुन सक्ने उहाँले बताउनुभयो ।

गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । सोही जनावरको मासु खाएकाले मरेको हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । गिद्ध मरेको विषयमा पशु प्राविधिकले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । गएको फागुन महिनामा समेत यसै क्षेत्रमा स्यालको विषाक्त मासु खाएर पाँच वटा गिद्ध मरेका थिए । नमूना सदरमुकाम निर्माण स्थल क्षेत्रमा रहेका सिमलका रुखमा गिद्धको बासस्थान रहेको छ ।

प्रतिक्रिया