विनयी त्रिवेणीका किशोरीलाई आत्मरक्षा तालिम सुरु


मध्यविन्दु,७ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गउँपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम सुरु गरेको छ ।
महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले विनयी त्रिवेणी गाउँपालिकाको सवै वडाका किशोरीहरुको प्रतिनिधित्व हुने गरि आत्मरक्षा तालिम सुरु गरिएको हो ।
देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला विनयी त्रिवेणी गाउँपालिकाले तीन स्थानमा सञ्चालन गर्ने गरि किशोरीलाई आत्मारक्षा तालिम दिन सुरु गरेको हो ।


किशोरी आत्मरक्षा तालिमको पहिलो दिन वडा नम्वर ३,४ र ५ का ५५ जना किशोरीहरुलाई तालिम प्रदान गरिएको छ ।
महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाउने विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्रीले बताउनु भयो ।
“बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्छ”उहाँले भन्नु भयो ।


तालिममा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिइएको प्रशिक्षक रेजिना घर्ती मगरले बताउनु भयो ।
“आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गराएको छ” प्रशिक्षक मगरले भन्नु भयो ।
किशोरी विद्यार्थीहरूले तालीममा सिकेका ज्ञानको बारेमा छोटो–छोटो प्रस्तुति प्रदर्शन गरेका थिए ।

तालिममा सहभागी वडा नम्वर ४ सर्दीकी एलिसा गैरेले हिंसाबिरुद्ध प्रतिकार गर्न र बालबिबाह, बहुबिबाह, घरेलु हिंसा जस्ता सामाजिक बिकृतिहरुका बिरुद्धमा आवाज उठाउन ज्ञान प्राप्त भएको बताउनु भयो । कठिन परिस्थितिमा आफुमाथि हुने हिंसाको प्रतिकार कसरी गर्ने र समाजमा हुने सामाजिक बिकृतिहरु रोक्न के गर्ने भन्ने बिषयमा जानकारी पाएको वडा नम्वर ५ की ममता विश्वकर्माले बताउनु भयो ।
विनयी त्रिवेणी गाउँपालिकामा किशोरी आत्मरक्षा तालिम तीन चरणमा संचालन गरिने तालिम संयोजक विष्णु गौडेलले बताउनु भयो । “वडा नम्वर ३,४ र ५ लाई समेटेर कार्यक्रम सम्पन्न गरिएको छ ,अव वडा नम्वर १ र २ का किशोरीलाई दुम्कीबासमा, वडा नम्वर ६ र ७ का किशोरीहरुलाई त्रिवेणीमा तालिम संचालन गरिने छ” संयोजक गौडेलले भन्नु भयो ।

 

प्रतिक्रिया