कांग्रेसका स्वतन्त्रता सेनानी तिलक सापकोटाको निधन


नेपाली कांग्रेसका नेता एवं स्वतन्त्रता सेनानी तिलक सापकोटाको निधन भएको छ । बागलुङ हुँदै नवलपरासीलाई आफ्नो राजनीतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आउनु भएका कांग्रेसका पुराना नेता सापकोटाको आज भरतपुरस्थित अस्पतालमा ८० वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास समस्याबाट ग्रसित सापकोटालाई मंगलबार अपराह्नमात्रै अस्पताल लगिएको थियो ।
राजनीतिक अभियोगमा २०४० सालदेखि रुपन्देही, पाल्पासहितका जेलमा ४ वर्ष बन्दी जीवन बिताउनु भएका सापकोटा कांग्रेसमा २०१५ सालदेखि सक्रिय रहनु भएको थियो । सापकोटाले जननेता बीपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिनु भएको थियो । सापकोटाले गैंडाकोटमा कालिका संस्कृत विद्यापीठ, कालिका विद्यालय, गैंडाकोट नहर परियोजना, विजय विकास स्रोत केन्द्रको स्थापना गर्नमा अग्रणी भूमिका निभाउनु भएको थियो भने देवघाट विकास समितिलाई व्यवस्थित र सेवा–सुविधायुक्त बनाउन पहल गर्नु भएको थियो ।
सापकोटाका कान्छा छोरा कृष्ण सापकोटाका अनुसार, २०३६ सालको जनमतसंग्रहमा बागलुङ बसेर बहुदलको पक्षमा माहोल बनाएपछि राज्यसत्ताका निम्ति तिलकप्रसाद तारोझैं रहनु भएको थियो । राजनीतिक यात्रामा उनले २०२८ सालपछि बागलुङ र नवलपरासी जिल्लाको पार्टी सचिवका रूपमा काम गर्नु भएको थियो ।
नेपाली कांग्रेसले सधैं उपेक्षा गरेका स्वतन्त्र सेनानीका रुपमा चिनिने सापकोटाले २०४० सालदेखि निरन्तर लेखिरहेको दैनिकीको संस्मरण कृति ‘यात्रा निरन्तर’ सांग्रीला बुक्सले गत वर्ष प्रकाशित गरेको थियो । गैंडाकोटामा स्थायी बसोबास रहेका सापकोटाका १ श्रीमती तथा ७ छोरा र ४ छोरी छन् ।

प्रतिक्रिया