२५ औँ फोनिज स्थापना दिवसको पूर्व सन्ध्यामा नवलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


२६ साउन , नवलपुर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज स्थापना दिवसको पूर्व सन्ध्यामा  नवलपुर जिल्लामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रम जिल्लाको सदरमुकाम कावासोती स्थित कावासोती नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । फोनिज नवलपुरको आयोजनामा समावेशी सञ्चार विगत र वर्तमान , आदिवासी जनजातिहरूको सवाल र सरोकारवालहरूको भूमिका विषयकमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रम फोनिज नवलपुरका अध्यक्ष चन्दा गुरुङको अध्यक्षता एवम् नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय पूर्व उपाध्यक्ष ज्ञान बहादुर बोटेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बोटेले सञ्चार माध्यममा आदिवासी जनजातिहरूको व्यक्तिगत भन्दा पनि मुद्दाको समावेशिता चाहेको बताउनु भयो ।

आदिवासी जनजातिहरूको हक अधिकारको मुद्दाका विषयलाई आदिवासी पत्रकारले मात्र कलम चलाएर नपुग्ने भन्दै गैर आदिवासी जनजाति पत्रकारहरूलाई पनि मुद्दाका विषयमा सकारात्मक रूपबाट कलम चलाउनु पर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा आदिवासी जनजाति अधिकार प्राप्तिका लागि स्थानीय तहदेखि प्रदेश स्तरसम्म एकद्धार प्रणालीबाट विकासमा सहकार्यको भूमिका खेल्नु पर्नेमा जोड दिइएको थियो ।

यस्तै गरी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै नेपाल आदिवासी जनजाति महासङ्घ नवलपुरका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठले आदिवासी जनजाति समुदाय जबसम्म राज्यको मूलधारमा पुग्दैनन् तबसम्म समावेशिता भएको मान्नु गलत हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ नवलपुरका पूर्व अध्यक्ष रामव्लोन तामाङ , जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा , आदिवासी जनजातिका विभिन्न भातृसँघ संस्थाका पदाधिकारी , कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेत , प्रमुख प्रशासकीय लिला राज पौडेल , नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुली, फोनिजकर्मी लगायत पत्रकार महासङ्घका विभिन्न भातृसँघ सङ्गठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

करिब ५० जना सहभागी रहेको कार्यक्रममा आदिवासी जनजातिका विभिन्न सवालहरू उठान गरिएको थियो । फोनिजको २५ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा कार्यक्रम गरिएको हो । आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजले साउन २७ गते अर्थात् आइतबार २५ औँ स्थापना दिवस मनाउने भएको छ ।

प्रतिक्रिया