नवलपरासी पूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दो


विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), २५ साउन,रासस
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा माछा उत्पादनमा बर्सेनि वृद्धि भएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछा पालन तर्फ कृषकहरूको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछा पालनको लागि उत्कृष्ट प्रमाणित गरेपछि अहिले व्यावसायिक माछा पालन गर्ने क्षेत्र बर्सेनि बढ्दो रूपमा रहेको छ ।

माछा पालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र कृषकहरूले राम्रो आयआर्जन गरिरहेको हुनाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख ऋषभ गुरागाईँले बताउनु भयो ।
“जिल्लामा गत आर्थिक वर्षमा ५७ वटा माछा पोखरी थप भएका छन्,आ.व. २०७९/०८० मा पोखरीको सङ्ख्या एक हजार पाँच सय १७ रहेको थियो भने २०८०/०८१ मा वृद्धि भई एक हजार पाँच सय ७४ पुगेको छ”,उहाँले भन्नु भयो,“यो तथ्याङ्कले पनि जिल्लामा कृषकहरू माछा पालन तर्फ आकर्षित भएको पुष्टि गरेको छ ।”

जिल्लामा गत वर्ष मात्रै ५८ वटा नयाँ मत्स्यकार्प फार्म सञ्चालनमा आएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा दुई सय १५ वटा फार्म रहेकोमा गत आ.व. २०८०/०८१ मा ५८ वटा नयाँ थप भई दुई सय ७३ वटा फार्म पुगेको प्रमुख गुरागाईँले जानकारी दिनु भयो ।
“माछा फार्म र माछा पोखरी थपिने क्रम बढे सँगै यहाँ प्रत्येक वर्ष माछा उत्पादनमा समेत वृद्धि भएको छ”,उहाँले भन्नु भयो,“आ.व.२०७८/७९ मा नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएकोमा आ.व.०७९/८० मा नौ सय ६८ मेट्रिक टन र गत आ.व.०८०/०८१ मा नौ सय ८१ मेट्रिक टन माछा उत्पादन भएको छ ।”

माछा पालन तर्फ जिल्लामा आकर्षण बढ्दै गए पछि माछाका भुरा नै उत्पादन गर्ने गरी गत आर्थिक वर्षमा एक वटा मत्स्य ह्याचरी स्थापना भएको छ । त्यसै गरी यहाँ छ वटा मत्स्य स्रोत केन्द्र सञ्चालनमा रहेको प्रमुख गुरागाईँले जानकारी दिनु भयो ।
“नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत मत्स्य स्वास्थ्य घुम्ती शिविर मार्फत स्थलगत माछा पोखरीको रेखदेख गरिनुका साथै पच्चीस लाख २८ हजार सिल्भर कार्प तथा रोहु, नैनीका भुरा वितरण गरिएको छ”,उहाँले भन्नु भयो ।

सरकारले माछा पालनका लागि सिफारिस गरेका रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर, वडगासी जातका माछा यहाँ उत्पादन गर्ने गरिएको छ । जिल्लाको कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिक कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रम अन्तर्गत नयाँ पोखरी निर्माण गरी माछा पालनका लागि कार्यालयले प्रोत्साहन गरेको छ ।

 

 

प्रतिक्रिया