कावासोतीमा लखन थापा मगरको १ सय ४७ औँ स्मृति दिवस मनाइयो
नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको १ सय ४७ औँ स्मृति दिवस मनाइएको छ । हरेक फाल्गुन २ गतेका दिन प्रथम सहिद लखन थापाको स्मृति दिवस मनाउँदै आएको छ ।
नवलपुर जिल्लाका मगर समुदायले थापाको स्मृति दिवसको अवसरमा बुधवार जिल्लाका सरकारी निकायमा लखन थापा सहित पाँच जना अमर वीर सहिदको तस्बिर हस्तान्तरण गरेका छन् । कावासोती नगरपालिका १ पोखरी ताल परिसरमा निर्माण गरिएको थापाको सालिकमा मल्याणपर्ण समेत गरिएको छ ।
नेपाल मगर सङ्घ नगर समिति कावासोतीको आयोजनामा भएको उक्त कार्यक्रमको नगर सङ्घका अध्यक्ष सुनमाया थापा मगरको अध्यक्षता रहेको नेपालको इतिहासमा प्रथम शहीदको गरिमामय स्थान प्राप्त गरेका लखन थापा मगरको जन्म वि.सं.१८९१ सालमा गोरखाको बुङकोट–४ काहुले भन्ज्याङमा भएको थियो ।
देश र जनताको मुक्ति र स्वतन्त्रताको लागि जहानियाँ तानासाही अधिनायक बादी शासनको विरुद्ध मा आवाज उठाएका कारण उनलाई वि.सं. १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा मनकामना मन्दिरको परिसरमा लखन थापा र उहाँका सहकर्मी जैसिं चुमी मगरलाई फाँसी दिई हत्या गरेका थिए । नेपालमा ज्ञात अज्ञात सहिदहरू छन् ।
जस अनुसार नेपालमा अहिले सहिद भन्नाले वि.स.१९९७ सालमा सहिद भएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मात्र बुझ्ने गरिन्छ । तर यी चार सहिदहरूका पनि प्रेरणाका स्रोत बनेका क्याप्टेन लखन थापा मगरलाई राज्यले मगर समुदायको दबाबका कारण सहिद घोषणा गरेता पनि प्रथम सहिद भन्न भने हिचकिचाइरहेको अवस्था छ ।
यस्तो अवस्थामा लखन थापालाई सरकारबाट अरू सहिदहरूलाई जति नै मान्यता दिनु पर्ने , जातिको आधारमा विभेद गर्न नहुने नेपाल मगर सङ्घका पदाधिकारीको भनाइ छ । वि.स.२०५६ सालमा शहीदको सूचीमा राखेका थापालाई नेपाल सरकारले वि.स.२०७२ साल असोज ३ गते मात्रै प्रथम शहीदको औपचारिक मान्यता दिएको हो ।
मन्त्री परिषद्को निर्णयले प्रथम सहिद घोषणा गरे पनि व्यवहारमा लागु नभएको भन्दै मगर समुदायले दुख व्यक्त गरेका छन् । सरकारी कार्यलयहरु लगायत अन्य संघसस्थाहरुमा राखिने अन्य सहिदको स्थानमा प्रथम सहिद लखन थापा मगरको तस्बिर राख्नु पर्ने , र लखन थापा मगरको स्मृति दिवसको दिन सार्वजनिक बिदाको व्यवस्था गर्नुपर्ने जस्ता माग मगर समुदायको छ ।