साँघुरो ठाउँमा पालैपालो सुतेर रात कटाए भूकम्प पीडितले


१९ कात्तिक, नलगाड । जाजरकोटका भूकम्प पीडितहरुलाई बासको समस्या भएको छ । पर्याप्त त्रिपालसमेत नभएकाले उनीहरु साँघुरो ठाउँमा पालैपालो सुतेर रात कटाएका छन् ।

नलगाड नगरपालिका-७ बगरकी ३३ वर्षीया सरस्वती सुनुवारले बाटो किनारको एउटा घुम्ती पसल (ढ्याब्ली) भित्र तीन-चार जना पालैपालो सुतेर रात कटाएको बताइन् ।

भूकम्पले घर पूरै चर्किएको र ढुंगामाटो पनि खसेकाले घरभित्र गएर बस्नसक्ने अवस्था छैन । ‘राति भूकम्प गएको थाहै पाइएन । ढुंगा खसेर टाउकोमा लागिसकेछ । भाउजु मनमाया सुनुवार उठेर ‘धामी आयो-धामी आयो’ भन्दै कराउनुभयो । पछि पो भूकम्प आएको थाहा भयो,’ उनले भनिन् ।

त्यसपछि घर बाहिर निस्किएको उनको परिवारको बास सडकमै छ । सबैजसो भूकम्प पीडितहरुले आफैं ओतको व्यवस्था गरेर खुला स्थानमा रात कटाएका छन् । ठाउँ-ठाउँमा आफैंले प्लास्टिक, तन्ना, धोतीको ओत लाग्ने ठाउँ बनाएर मानिसहरु बसिरहेको देखिन्छ ।

बगरस्थित जस्ताले बनेको सडक किनारमा रहेको सानो घुम्ती पसलभित्र पनि तीन, चार जना बसेको देखिएको छ । उनीहरुले आलोपालो गरेर सुतेको बताएका छन् । ‘लुगा लिन पनि घर जान सक्ने अवस्था पनि छैन,’ सरस्वतीले भनिन्, ‘साँघुरो घुम्ती पसलमा ठाउँमा पालैपालो सुतेर रात काट्यौं ।’

नलगाड नगरपालिका ७ की बगरकी ४० वर्षीया शीला नेपालीले ५ घर परिवार तीन वटा पाल टाँगेर रात बिताएको बताइन् । ‘पाँच घर परिवार तीनवटा पाल मुनि बस्यौं । एकातिर पुरुष, अर्कोतिर महिला बस्यौं । साँघुरो ठाउँमा खाना पकाउने, खाने, सुत्ने गरेर एक रात काटियो ।’

शीलाका अनुसार शुक्रबार राति ७७ वर्षको बाजे, ८ वर्षीया छोरी र १४ वर्षीय छोरासहित सुतिरहेका बेला एक्कासी जमिन हल्लियो । घरका सामान खसेर चोट पनि लाग्यो । छिमेकीहरु आएर उनीहरुलाई घरबाट बाहिर निकाल्न सहयोग गरे । आफूहरुको ज्यान जोगिए पनि उनको छिमेकमा एकै परिवारका ७ जनाको ज्यान गएको उनले बताइन् ।

त्यसपछि उनको परिवार घर भित्र जान र घरमा पुरिएका सामान निकाल्न सकेको छैन । छिमेकीहरुसँग मिलेर सामानको जोहो गर्ने र खाना बाँडिचुँडी गरेर उनीहरु बसिरहेका छन् ।

‘५ घर परिवार मिलेर तीन वटा पाल टाँगेर खाना पकायौं । एकातिर पुरुष, एकातिर महिला बस्यौं,’ शीलाले भनिन्, ‘फेरि भूकम्प जान्छ भन्छन् । त्यही भएर घर गएर सामान निकाल्न पाएका छैनौं ।’

इलाका प्रहरी कार्यालय दल्लीका इन्सपेक्टर यम चौधरीका अनुसार भूकम्पले नलगाड नगरपालिकाको सबैभन्दा धेरै मानवीय क्षति वडा नम्बर १ मा छ । भूकम्पमा पीडितहरुको राहत तथा पुनर्स्थापनाको काम सुरु भएको जानकारी दिए ।

बाटो खुलाउने र भग्नावशेष पन्छाउने काम जारी छ । स्थानीयलाई सघाउन सुरक्षाकर्मीको थप मद्दत टोली जाजरकोट आएको छ । मद्दतका लागि सशस्त्रको ५ नम्बर रिजर्भ गण शमशेरगञ्जको टोली नलगाडमा परिचालित छ । सो टोलीका इन्सपेक्टर दिक्पाल तारिणीका अनुसार खोजी कार्य जारी छ ।

प्रतिक्रिया