नेपालमै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’


मध्यविन्दु (नवलपरासी), ४ भदौ ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो ।
नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय नवलपुर, स्वास्थ्य कार्यालय नवलपुर, नेपाल रेडक्रस सोसाइटि र मध्यबिन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा नेपालमा नै पहिलोपटक सर्प महोत्सव सञ्चालन गरिएको सर्प संरक्षणकर्मी कमल देवकोटाले बताउनु भयो । “सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइ बारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको हो”उहाँले भन्नु भयो ।
महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टलहरु राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्ने बारेमा पनि जानकारी दिइने देवकोटाले बताउनुभयो ।


विशेष गरि गर्मियाममा तराई भेगमा सर्पदंशका विरामी बढ्ने र समयमा उपचार नपाउदा मृत्यु हुने गरेको छ । “सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ, किनभने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अंग हो”उहाँले भन्नुभयो “आफुँ पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको हो ।”
कावासोतीमा गरिएको सर्प महोत्सव नेपाल कै पहिलो भएको आयोजकको दावी छ । महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकिहाले के गर्नै भन्ने बारेमा महोत्सवमा प्रर्दशन गरिएको छ । विभिन्न सर्पका नाम उल्लेख गरि पोष्टर र तिनका विशेषताका बारेमा स्थानीय सहभागि, विद्यार्थी लगाएतका लाई जानकारी गराइएको संरक्षणकर्मी देवकोटाले बताउनु भयो ।
सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो । नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवार अन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा.छविलाल थापाले बताउनु भयो  । “इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन ” उहाँले भन्नु भयो “२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विषरहित हुन्छन्, सर्पले टोक्दैमा आत्तिनु हुँदैन ।”
समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्यांक पनि बढ्दो रहेको छ । सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइ बारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको डा.छविलाल थापाले बताउनु भयो ।
“नवलरपासी(बर्दघाट सुस्तापूर्व)मा यो वर्षमा मात्र विषालु सर्पले टोकेका १२ महिला र १५ पुरुष गरि २७ जना उपचारमा आएको तथ्याङ्क छ” उहाँले भन्नु भयो “आर्थिक बर्ष २०७९÷०८० मा जिल्लामा सामान्य सर्पले टोकेका एक सय ८५ पुरुष र एक सय ७७ महिला गरि तीन सय ७२ संख्या रहेको छ । ”


पहिला गाउँघरमा देखिने सर्प पहिचान गर्न गाह्रो हुने गरेको भएपनि सर्प महोत्सव अवलोक गरेपछि चिन्न सक्ने भएको महोत्सवमा सहभागि विद्यार्थी मुकेश रानाले बताउनु भयो । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्न सक्ने भएको छु”उहाँले भन्नु भयो “सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु ।”

आज नागपञ्चमी मनाइदै
श्रावण शुक्ल पञ्चमीको दिन आज(सोमबार) नागको पूजागरी घर–घरमा नागको फोटो एवम् प्रतिमा टासिँदै छ । हिन्दु धर्मसंस्कार अनुसार प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन नागको पूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नाग अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा आराधना गरिन्छ ।
नागको फोटो घरमा टाँस्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको डर नहुने धार्मिक विश्वास रहिआएको छ । यो धार्मिक विधि कुनै आडम्बर नभएर यसको आफ्नै वैज्ञानिक महत्व रहेको विज्ञको भनाइ छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहणगरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो ।
पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य छ । मुसा लगायतका जीवबाट बाली बचाउन सहयोगी भूमिका खेल्ने भएकाले सर्पलाई किसानको साथी पनि भनिन्छ ।

प्रतिक्रिया