नवलपुरमा ३२ प्रजातिका एक लाख १८ हजार बिरुवा निशुल्क वितरण गरिदै


मध्यविन्दु,१४ असार,
डिभिजनल बन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले ३२ प्रजातिका एक लाख १८ हजार भन्दा वढि बिरुवा निशुल्क वितरण गर्ने भएको छ ।
बन कार्यालयले कावासोती र गैंडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो ।
डिभिजनल बन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)को परिसरमा रहेको डिभिजन नर्सरी र गैंडाकोट सव डिभिजन कार्यालयको सव डिभिजन नर्सरीमा हुर्काईएका एक लाख १८ हजार विरुवा बृक्षरोपणका निमित्त निशुल्क वितरण थालिएको बन अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद गौतमले बताउनु भयो ।
दुई वटै नर्सरीबाट एक लाख १७ हजार बिरुवा उत्पादनको लक्ष्य रहेपनि लक्ष्यभन्दा धेरै बिरुवा तयार भएको उहाँले बताउनु भयो ।
यस बर्ष बन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवाहरु तयार गरेका छ । जसमा बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डालेघाँसका विरुवा, बहुवर्षीय फूलका विरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवाहरु उत्पादन गरेको छ ।
असार ८ गतेदेखि विरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउनेहरु बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अव सवरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउनेहरु बढेका हुन् । निजी, सार्वजनिक तथा संस्थागत सवैलाई निशुल्क रुपमा विरुवा उपलब्ध गराउँदा बाताबरणीय सन्तुलन, बातावरणीय सौन्दर्यीकरण, भू–क्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपुर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
“बिशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताहरुले सौन्दर्यजन्य धुपी, कल्कीफूल, गोलमोहर, विरेन्द्रफूल, कपुर जस्ता विरुवाहरु लैजाने गरेका छन्” सुचना अधिकारी गैतमले भन्नु भयो “सामुदायिक बन, संस्थागत र सार्वजनिक स्थलमा बृक्षरोपण गर्नेहरुबाट सबै प्रजातिका मिश्रित विरुवाको माग हुने गरेको छ ।”
कार्यालयले विरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयहरुले समेत वृक्षरोपणमा चासो देखाएका छन् ।

प्रतिक्रिया