शहीद परिवारको गुनासोः गणतन्त्र कार्यान्वयन फितलो भयो


जेठ १५ –
गणतन्त्र प्राप्तिपछि आम नागरिकले गरेको अपेक्षाअनुसार काम अझै हुन नसकेको शहीद परिवारले गुनासो गरेका छन् । आफ्ना परिवारका सदस्यले परिवर्तनका लागि गरेको त्यागको प्राप्त आम नेपालीले पाउनुपर्ने उनीहरुको भनाइ छ । परिवारले जस्तोसुकै पीडा भोग्नुपरेको भए पनि देशको परिवर्तन मूल उद्देश्य हुनुपर्नेमा उनीहरुको जोड छ ।
द्वन्द्वकालमा श्रीमान् गुमाउनुभएकी भरतपुर महानगरपालिका–२० की सङ्गीता भट्टराई आफ्ना पतिले गणतन्त्र प्राप्तिका लागि बलिदानी दिएको बताउनुभयो । गणतन्त्र जुन उद्देश्यका साथ स्थापना भएको छ त्योअनुसार कार्यान्वयन गर्ने पाटोमा अघि नबढेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “देशका बुद्धिजीवी, कर्मचारीको सोचाइ अझै पुग्न सकेको छैन । परम्परागत सोचाइका कारण गणतन्त्र कार्यान्वयनमा समस्या छ ।”
बलिदान दिने परिवारका तर्फबाट अपेक्षा र स्वार्थ केही नभएको भन्दै उहाँले भन्नुभयो, “जुन उद्देश्यका साथ गणतन्त्र स्थापना भयो । सामान्य जनताको छोरो पनि देशको शासन गर्ने ठाउँमा पुग्यो ।” आफ्नो भावना, पीडा सबै व्यक्त गरेर गणतन्त्र स्थापना गरेको भन्दै शहीद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएकी भट्टराईले भन्नुभयो, “कार्यान्वयन गर्ने निकायले सही ढङ्गले कार्यान्वयन नगर्दा अपेक्षा गरेअनुसारको कार्यान्वयन हुन सकेन ।”
पूर्वी चितवनको वीरेन्द्रनगरकी अरणा कँडेलले विसं २०४६ को आन्दोलनमा आफ्नो बुबा गुमाउनुभएको थियो । जुन अपेक्षाअनुसार परिवर्तनका आन्दोलनमा सहभागिता जनाउनुभयो त्यो अहिले नभएको उहाँको गुनासो छ । उहाँले प्रश्न गर्नुभयो, “देशमा नै समस्या भइरहेको समयमा अहिले के अपेक्षा पूरा हुने रु” जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै उहाँले अत्यावश्यक वस्तुको मागसमेत पूरा गर्न कठिन भएको समयमा गणतन्त्र कार्यान्वयन झन फितलो बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यान्वयनको पक्ष बलियो हुन जरुरी छ । जनताले सहजरुपमा सेवा पाउन सके त्यो कार्यान्वयनमा आउने थियो ।”
सशस्त्र द्वन्द्वमा छोरा गुमाउनुभएका माडीका दण्डपाणि पौडेलले गणतन्त्र राजनीतिक परिवर्तन भए पनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो । जनताले आजभन्दा भोलि झन समस्या झेलिरहेको बताउँदै उहाँले भन्नुभयो, “अहिले गणतन्त्र कार्यान्वयनका चरणमा राज्यले दायित्व लिएर अघि बढ्नुपर्छ ।” समय अनुकूल परिवर्तनलाई महसुुस हुने गरी काम गर्न नसकेको उहाँले बताउनुभयो ।
माडीकै नरमाया सुनारनीले बाँदरमुढे घटनामा श्रीमान् गुमाउनुभएको छ । उहाँले भन्नुभयो, “राज्यले परिवर्तनको अनुभूति दिन सकेन”, पीडितले न्याय पाउन नसकेको भन्दै उहाँले भन्नुभयो, “पीडितले न्याय र नागरिकले गणतन्त्रको अनुभूति पाउनुपर्छ ।” आम नागरिकले अनुभूति पाउने गरी काम हुनुपर्नेमा शहीद परिवारको जोड छ । आफ्ना आफन्त गुमाउँदै गर्दाको भन्दा पनि देशमा सोचेजस्तो परिवर्तन नभएका उनीहरुको चिन्ता छ ।

प्रतिक्रिया