भारतमा एकैदिन करिव चार लाखमा कोरोना संक्रमण, ३हजार ७८० को मृत्यु


नयाँदिल्ली – भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ३१५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समययता दैनिक साढे तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७८० कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख २६ हजार १८८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । भारतमा हालसम्म २ करोड ६ लाख ६५ हजार १४८ जनामा कोरोना संक्रमण भइसकेको छ ।

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् ।
संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ । संक्रमितको उपचारका लागि भारतलाई अरुदेशले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया