आज विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईँदै


काठमाडौं – विश्व प्रेस स्वतन्त्रता दिवस आज विविध कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।

सन् २०२१ मा विश्व कोरोना त्रासले आक्रान्त छ । अघिल्लो वर्ष पनि यो समय यस्तै सन्त्रासमा थियो । यो वर्ष पनि त्यसमा फेरबदल आएको छैन । यद्यपि विश्वभरि ‘सार्वजनिक सम्पतिका रूपमा सूचना ‘ भन्ने नाराका साथ ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदैछ ।

समाचार मिडियाको आर्थिक पूर्णता इन्टरनेट कम्पनीहरूको पारदर्शिता अनि मिडिया साक्षरतामा जोड दिँदै विश्वभरि ‘भर्चुअल’ कार्यक्रमबीच यो दिवस मनाइँदैछ । हुन त, हरेक वर्ष नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं र मुलुकका अन्य शहरमा मे–३ को दिन प्रभातफेरि कार्यक्रम हुन्थ्यो ।

त्यसअतिरिक्त दिउँसो पनि पत्रकारिता, प्रेस स्वतन्त्रताका सवालमा कुनै न कुनै किसिमको छलफल आयोजना गरिन्थ्यो । तर यो वर्ष कोभिड–१९ कहरकै बीचमा प्रेस स्वतन्त्रता दिवस परेको छ । चारैतिर संक्रमणको डर छ । भौतिक दूरी कायम राख्नुपर्ने अवस्था छ । सँगै सरकारी निषेधाज्ञाका कारण पनि भेला हुन सक्ने स्थिति छैन ।

राज्यको चौथो अगंको रूपमा रहेकाे प्रेस अर्थात् सञ्चार माध्यम र यसकाे स्वतन्त्रताका सवालहरूबारे बहस गरिँदै छ।  विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झनासहित र सम्मान गर्दै मनाइन्छ ।

सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो ।

प्रतिक्रिया