भारतमा अहिलेसम्मकै धेरै एकैदिन ३७ सय संक्रमितको मृत्यु


भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। आइतबार एकै दिनमा अहिलेसम्मकै धेरै तीन हजार ७२८ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमितको संख्या केही घटेको छ। आइतबार थप तीन लाख ९२ हजार ५६२ जनामा संक्रमण देखिएको छ। शनिबार चार लाख दुई हजार ११० जनामा संक्रमण देखिएको थियो।

योसँगै सक्रिय संक्रमितको संख्या ३३ लाख ५२ हजार ३६१ पुगेको छ। अहिलेसम्म एक करोड ९५ लाख ४५ हजार ५६५ जनामा संक्रमण भइसकेको छ।

पछिल्लो २४ घण्टामा संक्रमितको संख्या घटे पनि मृत्यु हुनेको संख्याले भने नयाँ रेकर्ड बनाएको छ। एकै दिन तीन हजार ७२८ जनाले ज्यान गुमाएका छन्। अघिल्लो दिन तीन हजार ५९६ जनाको ज्यान गएको थियो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख १५ हजार ५२३ पुगेको छ।

अहिले भारतका १४ राज्यमा कोरोनाको संक्रमण तीव्र रहेको छ। जहाँ दैनिक १०० भन्दा बढीले ज्यान गुमाइरहेका छन्। सबैभन्दा बढी मृत्यु हुनेमा महाराष्ट्र रहेको छ। महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ८०२ जनाको मृत्यु भएको छ।

त्यस्तै, दिल्लीमा ४१२, उत्तर प्रदेशमा ३०३, कर्नाटकमा २७१, छत्तिसगढमा २८२ र गुजरातमा १७२ जनाको मृत्यु भएको छ। नेपालसँगै जोडिएको उत्तराखण्डमा पनि १०७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया