नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा गर्ने तयारी
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत नवलपुरको दुवै निर्वाचन क्षेत्रका मतगणना कावासोतीमा हुने भएको छ । दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरको मतगणना सदरमुकाम कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा हुने भएको हो ।
जिल्लाको छ वटै क्षेत्रको मतगणना आठ वटा कोठाबाट एकसाथ गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए । जिल्लामा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ ।
क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार आज साँझसम्म मतदानस्थल निर्माण, फोटोसहितको मतदाता परिचयपत्र वितरण तथा सर्वदलीय बैठक सकिएको छ । सबै मतदानस्थलमा भएको सर्वदलीय बैठकमा मतगणनालाई शान्तिपूर्णता सम्पन्न गर्नका लागि दलका प्रतिनिधि तयार रहेका पन्थीले बताए ।
जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा आएपछि सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना गर्ने तयारी गरिएको छ । पन्थीले मतगणना सुरु भएको पाँच दिनभित्र अन्तिम मत परिणाम घोषणा गरिने दाबी गरे ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मतदानस्थलमा हुनसक्ने हिंसात्मक गतिविधि रोक्नदेखि मतदानस्थलबाट मतगणनास्थलसम्म सुरक्षितरुपमा मतपेटिका ल्याउनका लागि सुरक्षाकर्मीलाई उच्च सतर्कता साथ राखिएको बताए । मतदान सकिएपछि आइतबार राति १२ बजेसम्म सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याउनेगरी तयारी गरिएको उनले बताए।-(रासस)