नेपाल विश्वविद्यालय स्थापनाका लागि परामर्श बैठक मध्यविन्दुमा


मध्यविन्दु,(नवलपरासी पूर्व), १८ कात्तिक,

नेपाल विश्वविद्यालय विकास समितिको पाँचौ परामर्श बैठक नवलपरासी पूर्वको मध्यविन्दुमा सम्पन्न भएको छ । विकास समितिका सदस्य, विभिन्न प्राज्ञिक व्यक्तित्व, अन्तराष्ट्रिय विश्वविद्यालयका प्रतिनिधि, जनप्रतिनिधि सहितको बैठकले विश्वविद्यालय स्थापनाको लागि सबै पक्ष सकरात्मक र सहयोग बन्न आवश्यक रहेकामा जोड दिनु भएको थियो ।
बैठकमा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नवलपुर जिल्लामा विश्वविद्यालय स्थापना हुने विषयमा सबैको गर्वको विषय भएको बताउनुभयो । स्थानीय स्तरमा विश्वविद्यालय स्थापना हुदाँ यस क्षेत्रको शैक्षिक, आर्थिक तथा सामाजिक अवस्थितिमा सकरात्मक परिवर्तन आउने भन्दै त्यसको लागि नगरपालिकाबाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु प्रसाद भुसालले विश्वविद्यालय स्थापना सम्बन्धी ऐन पारित भएर यस क्षेत्रमा विश्वविद्यालय स्थापना हुने अवस्थामा जग्गाको प्राप्ति सहित केही बजेट विनियोजन गर्न समेत पालिका तयार रहेको बताउनुभयो ।


हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले विश्वविद्यालय स्थापनाका लागि जिल्लाका स्थानीय तह, राजनितिक दल सहित सबै पक्ष सकरात्मक रहेको भन्दै अब त्यसको कार्यान्वयनमा विकास समितिले ठोस् उपलब्धीहरु हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाल सरकार पूर्व अर्थ सचिव रामेश्वर खनालले पाँच वर्ष अगाडी विश्वविद्यालय स्थापनाको लागि समितिका सदस्यहरुमा देखिएको उर्जा अहिले सम्म सोही स्तरमा रहेको भन्दै सरकार समेत विश्वविद्यालय स्थापनाको लागि समिति गठन देखि ऐन निर्माण समेतको कार्यमा सकरात्मक बनेको भन्दै नेपाल विश्वविद्यालय स्थापनाको सपना चाडैं नै पुरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वमा प्रतिस्पर्धा गर्न सक्ने स्थानीयता चिनेको जनशक्ति स्थापना गर्ने पवित्र उदेश्यले स्थापना हुने लागेको विश्वविद्यालय आफैमा निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल विश्वविद्यालय विकास समितिका सदस्य सुर्यराज आचार्यले विश्वविद्यालय स्थापनाको क्रममा केही प्रश्नहरु स्थानीय स्तरमा उठेको भन्दै त्यसमा कुनैपनि सन्देह नराख्न अनुरोध गर्नुभयो । उहाँले हाल रहेका विश्वविद्यालय भन्दा नेपाल विश्वविद्यालय भन्दा फरक बन्ने र त्यसलाई फरक बनाउन सबै पक्ष लागेको बताउनुभयो ।


कार्यक्रममा बृटिस कोलम्बीया विश्वविद्यालय क्यानडाका प्रोफेसर डा. रोवर्ट उलार्डले हाल नेपाल विश्व विद्यालय स्थापनाका लागि विकास समितिले गरेको प्रयास र स्थानीय स्तरमा देखिएको उत्सुकता निकै सकरात्मक पाएको बताउनुभयो । उहाँले विभिन्न देशमा स्थापना भएका हालका विश्वविद्यालय भन्दा नेपाल विश्वविद्यालय कसरी संस्थागत र फरक बन्छ भन्नेमा छलफल र त्यसको योजना तथा कार्यान्वयनमा आफु सहित विभिन्न देशका प्रज्ञिक व्यक्तित्वहरुको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।
कार्यक्रममा प्रो.डा. पिटर केलर, प्रो.डा. डेविड टेलर, नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाल विश्व विद्यालय स्थापनाको लागि नवलपुरको मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका सहित विभिन्न स्थानीय तहमा जग्गा प्राप्तिको लािग प्रारम्भीक अध्ययनको काम भइरहेको छ ।

प्रतिक्रिया