स्वीडेनमा चार दिनपछि पुनः प्रधानमन्त्री बनिन् मग्डालेना एन्डरसन
काठमाडौं – स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री मग्डालेना एन्डरसन राजीनामा दिएको चार दिनपछि सोमबार पुनः प्रधानमन्त्री पदमा नियुक्त भएकी छिन् । सोमबार स्वीडेनको संसदमा भएको मतदानमा उनले विश्वासको मत पाएकी हुन् ।
बीबीसीका अनुसार ३४९ सांसदमध्ये १०१ जनाले एन्डरसनको पक्षमा मतदान गरेका थिए भने १७३ जनाले विपक्षमा मतदान गरेका थिए । ७५ सांसद अनुपस्थित रहे । स्वीडेनमा विश्वासको मत पाउन विपक्षी सांसदको संख्या संसदको महुमतभन्दा कम भए हुन्छ ।
विपक्षमा थप तीन सांसदले मतदान गरेका भए एन्डरसन प्रधानमन्त्री बन्न पाउने थिइनन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एन्डरसनले समाज कल्याण, जलवायु परिवर्तन र अपराध नियन्त्रणजस्ता विषयमा केन्द्रित रहँदै स्वीडेनलाई अगाडि बढाउन तयार रहेको बताएकी छिन् ।
यसअघि गत बुधबार उनी केवल एक मत जित हात पार्दै स्वीडेनको पहिलो प्रधानमन्त्री बनेकी थिइन् । यद्यपि प्रधानमन्त्री बनेको १२ घण्टा नबित्दै उनले राजीनामा दिएकी थिइन् ।